साझेदारी गर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् ।

रास्वपाले बुधबार ढकाललाई ‘तपाईंलाई साधारण सदस्यसमेतबाट किन निष्कासन नगर्ने ?’ भनेर २४ घण्टे स्पष्टीकरण मागेको थियो ।

ढकालले बिहीबार त्यसको जवाफ लेख्दै पार्टी सभापति रवि लामिछानेमाथि प्रश्न गरेका छन् । उनले पार्टी कार्यालयमा दर्ता नगरी यसरी उल्टै स्पष्टीकरणको पत्र पठाउनु रवि लामिछानेले पार्टीमा विधि विधान विपरीत, थितिरहित हैकमे निरङ्कुश शासन चलाइरहेको स्पष्ट भएको बताएका छन् ।

“मैले आजसम्म तपाईँलाई होस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन् । तपाईँले ममाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ । नैतिक रूपले पतित हुनु भएको छैन भने तपसिलका प्रश्नहरूको जवाफ दिन अनुरोध गर्दछु,” ढकालले भनेका छन् ।

ढकालले सहकारी प्रकरणमा लामिछानेमाथि पार्टीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने भन्दै प्रश्न गरेका छन् । “सहकारी ठगी मुद्दामा तपाईँ माथि पार्टीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने ? तपाईँले आजको दिन सम्म आफ्नो कुनै गल्ती छैन, आफूमाथि छानबिन वा अनुसन्धान पनि हुन नसक्ने जिकिर गर्दै समग्र पार्टी र आम नेपाली जनतालाई पटक पटक ढाँट्नु भएको छ । म स्वयंले पनि तपाईँको ढाँटलाई सत्य मानेर बसिरहेको थिए तर असार २०, २०८१ गते न्यायाधीशहरू सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको सर्वोच्च अदालतको संयुक्त इजलासले तपाईँमाथि सहकारी ठगीसम्बन्धी छानबिन हुनुपर्ने फैसला गरिसकेको छ,” उनले सोधेका छन्, “सर्वोच्च अदालतको फैसलालाई तपाईँ मान्ने कि नमान्ने ? फैसला अनुसार पार्टीभित्र पनि अनुसन्धान गर्न दिने कि नदिने ? देशमा सुशासन ल्याउनका लागि खोलिएको पार्टीको सभापतिले आफू माथि लागेका आरोपको अनुसन्धान गर्न दिने हिम्मत राख्नुपर्छ । छानबिनका लागी तयार हुने आँट छ ? रवि लामिछाने ज्यू ?”