साझेदारी गर्नुहोस्

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो नाम जोडी खोलिएका सामाजिक सञ्जालका अनधिकृत खाता तथा पेज हटाई त्यस्ता प्रयोगकर्तालाई कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पुनः आग्रह गरेकी छन् ।

यसअघि पनि त्यस्ता पेजहरू बन्द गर्न आग्रह गरेको र अहिलेसम्म बन्द नभएको भन्दै उनले पुनः ताकेता गरेकी हुन् ।

२०८१ जेठ १३ र असार २५ गते केही फेसबुक पेजहरूलाई बन्द गर्न पत्राचार गरेको तर अहिले पनि प्रयोगमै रहेको उनको गुनासो छ । हालैमात्र एक सार्वजनिक कार्यक्रममा मेयर बालेन्द्र शाह र डंगोलसँगै रहेको भिडियोलाई तोडमोड गरी अनर्गल तरिकाले सामाजिक सञ्जालमा भाइरल बनाइएपछि साइबर ब्यूरोमा पत्रारचार गरिएको हो ।

‘एआई प्रविधिबाट फोटो तथा भिडियो एनिमेसन गरी सामाजिक सञ्जालहरूमा हाली व्यक्तिको चरित्रहत्या गर्नेसम्मका कार्य भइरहेकाले यथासम्भव चाँडो अनुसन्धान गरी उक्त भिडियो, फोटो तथा समाचारहरू हाटाइदिनुहुन र त्यस्ता गैरकानुनी ढंगबाट समाजमा गलत गतिविधि गर्नेहरूलाई कानुनबमोजिम कारबाही गरी सहयोग गरिदिनुहुन पुनः अनुरोध गर्दछु,’ डंगोलका तर्फबाट उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख लेखिएको छ ।

उपप्रमुख डंगोलले पनि अनधिकृत तरिकाले खोलिएका पेजहरुमार्फत महिला दिदी–बहिनीहरुको चरित्रहत्या गर्ने, समाजमा विद्वेष फैलाउने जस्ता गलत गतिविधि मौलाएको भन्दै त्यस्ता पेजहरुको निगरानी गर्न र बन्द गराउन आग्रह गरेको जानकारी दिइन् ।