साझेदारी गर्नुहोस्

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई सत्ताच्यूत गराउन विदेशी शक्तिको हात रहेको बताएकी छन् । आफ्नो पार्टी अवामी लिगका समर्थकहरुलाई पठाएको सन्देशलाई उदृत गर्दै भारतको द प्रिन्टले हसिनाको प्रतिक्रिया सार्वजनिक गरेको हो ।

प्रिन्टले लेखेको ‘मैले सेन्ट मार्टिन र बे अफ बंगाल अमेरिकालाई दिएको भए म सत्तामै रहन सक्थें ।’ प्रिन्टलाई उधृत् गर्दै बंगलादेशको पत्रिका द डेलि स्टारले पनि हसिनाको प्रतिक्रिया छापेको छ । बंगलादेश र भारतका सञ्चारमाध्यमहरुले यसलाई देश छाडेपछि हसिनाको पहिलो प्रतिक्रिया भनेका छन् ।

अमेरिकासँग लामो समयदेखि हसिनाको सम्बन्ध तनावपूर्ण थियो । र उनले गएको जनवरीमा एक जना गोरा व्यक्तिले एयरबेसको बदलामा सहजै शक्ति दिने भनेको बताएकी थिईन् ।

हसिनाले अन्तरिम सरकारलाई विदेशी शक्तिबाट प्रयोग नहुनसमेत चेतावनी दिइएको समाचारमा उल्लेख छ । २४ साउनमा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति मुहम्मद शाहबुद्दिनले युनुसको नेतृत्वमा १७ सदस्यीय सल्लाहकार परिषद् गठन गरेका थिए । दुई महिनादेखि चलेको विद्यार्थी आन्दोलनले उग्र रुप लिएपछि २१ साउनमा राजीनामा दिँदै हसिना प्रधानमन्त्री निवासबाटै हेलिकप्टरमार्फत देश छोडेर भागेकी थिईन् । आरक्षणको विरोधमा बंगलादेशमा भएको आन्दोलनमा कम्तीमा ३०० जना मारिएका थिए ।

‘मैले राजीनामा दिएँ ताकी मैले शवहरुको जुलुस देख्नु नपरोस् । उनीहरु विद्यार्थीको शरीरमार्फत शक्तिमा आउन चाहन्थे, मैले त्यसलाई अनुमति दिइन ।’ हाल भारतमा रहेकी उनले आफ्नो वक्तव्यमा भनेकी छन्, म देशमा थिएँ भने अहिले झन् धेरैको मृत्यु हुन्थ्यो होला, धेरै सम्पत्तिमा क्षति पुग्थ्यो होला।’ उनले भारतमा अर्को साता सञ्चारमाध्यमहरुसँग बाेल्ने समेत अनुमान गरिएको छ ।