साझेदारी गर्नुहोस्

पछिल्ला केही वर्ष यता नारीहरुको पवित्र पर्व तीजलाई लक्षित गरी निकालिएका गीतहरु विवादमा पर्ने क्रम बढ्दो छ । यस पटक पनि क्षणिक चर्चा बटुलेर छिटो पैसा कमाउने लालचले पर्वको मर्ममाथि नै प्रहार गरेर बजारमा ल्याइएका झण्डै आधा दर्जन गीत विवादमा परेका छन् ।

छोटो समयमा धेरै चर्चा अनि ठुलो आम्दानीको लोभले पछिल्लो समय आएका तीजका गीतहरुले पर्वको मर्म र गीतको मौलिकतामाथि धावा बोलेको देखिएको छ । नारीहरुको पवित्र पर्व तीजलाई लक्षित गरी सार्वजनिक गरिएका केही गीतहरु पर्वको मूल प्रवृत्तिबाट विमुख रहेका मात्रै छैनन्, घर परिवारसंगै बसेर सुन्न र हेर्न समेत नसकिने खालका छन् ।

पौराणिक मान्यता, पर्वको मौलिकता, चेलिबेटीका सुखदुखका कथा भन्ने तथा सामाजिक जागरण जगाउनु पर्ने गीतहरुको सट्टा क्षणिक लाभ, रमाइलो र युट्युबबाट भ्युज बटुलेर आर्थिक लाभ लिने महत्वाकांक्षा हावी हुँदा सिंगो लोक संस्कृति नै विकृत बन्ने अवस्था आएको सरोकारवालाहरु बताउँछन् ।

त्यसो त तीज पर्वको मौलिक मर्म पछ्याएर सिर्जना गरिएका गीतहरु पनि बजारमा नआएका हैनन् । तर नयाँपन खोज्ने श्रोता दर्शकको चाहनाको फाइदा उठाउदै वर्षभरि रेर्कड भएका ५,७ सय गीतहरुको समेत धज्जी उडाउने गरी बजारमा आएकामध्ये ५, ७ वटा गीत नै विकृति फैलाउन पर्याप्त देखिएका छन्, जुन नियन्त्रण बाहिर रहेकाले समस्या बन्दै गएको हो ।

सस्तो चर्चा बटुल्ने र छिटो पैसा कमाउने लोभमा अश्लील गीतहरु गाउने मात्रै होइन, त्यस्ता गीतको भड्किलो र अश्लील दृश्य सामग्री समेत बनाउने गरिएको छ ।