साझेदारी गर्नुहोस्

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरुको सेवालाई प्रभावकारी बनाउन ९ बुँदे कार्यक्रम तय गरेका छन् । मन्त्रालयका कर्मचारी र अस्पताल प्रमुखहरु सँगको छलफल पछि मन्त्री पौडेलले दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्ने लगायतका निर्णय गरेका हुन् । निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयले शुक्रबार नै अस्पताल र प्रतिष्ठानहरुमा परिपत्र गरेको छ ।

अस्पतालका कतिपय विभागहरूमा पाँच वा सोभन्दा बढी युनिटहरू रहेको हुँदा पर्याप्त चिकित्सकहरू हुँदाहुँदै पनि ओपीडी एवं शल्यक्रियाहरूमा चिकित्सकको कमी देखिएको भन्दै मन्त्री पौडेलल विभिन्न निर्णयहरु गरेका हुन् ।

पत्रको बुँदामा के के छन् ?
. सेवाग्राहीको चाप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाई अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्ने उल्लेख छ ।
. यस्तै विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ बमोजिम विस्तारित अस्पताल सेवा लागू गर्ने
. प्राप्त सुझावका कार्यविधि परिमार्जन गरिने विषय
. चिकित्सकको राउन्ड, बिरामी भर्ना, बिरामीहरूको डिस्चार्जबीच समयको तारतम्य मिलाई शय्या नपाई भर्ना हुन नसक्ने अवस्था अन्त्य गर्ने

. मन्त्रालयले युनिटको प्रभावकारी व्यवस्थापन गर्ने, स्वास्थ्य बीमा कार्यक्रमबाट उपलब्ध गराइने सबै औषधि अस्पतालको बीमा फार्मेसीमा पर्याप्त राखी अटुट र अविच्छिन्न सेवा प्रवाह गर्ने
. अस्पतालमा सेवाग्राहीको भिड व्यवस्थापनका लागि सेवा काउन्टर थप गर्ने, अनलाइन टिकट काट्ने, अनलाइन समय व्यवस्थापन (टोकन नम्बर अनुसारको समय जानकारी गराउने), विद्युतीय भुक्तानी प्रणाली
. सेवाग्राहीले सामान्य कामको लागि समेत अस्पताल प्रमुखलाई पर्खनुपर्ने बाध्यता हटाउन अस्पताल प्रमुखद्वारा विभागीय प्रमुख एवं अन्यलाई सम्बन्धित अधिकार प्रत्यायोजन गर्ने व्यवस्था मिलाउने
. अस्पतालको कुन सेवा कहाँ पाइन्छ भन्ने जानकारी नहुँदा सेवाग्राहीको अव्यवस्थित भीड अस्पतालमा हुने भन्दै त्यसको निराकरणका लागि नक्सा सबैले देख्ने गरी टाँस्नुपर्ने वा स्वयंसेवक परिचालन गर्नुपर्ने र सोधपुछ, सहायता कक्ष, गुनासो सुन्ने व्यवस्था, पिउने पानी र सफा शौचालयको व्यवस्था मिलाउने