साझेदारी गर्नुहोस्

सिन्धुपाल्चोकका विभिन्न स्थानमा भारी वर्षा भएको छ । भारी वर्षाका कारण मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार जलसतह बढ्दो क्रममा छ । नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।

सिन्धुपाल्चोकको मेलम्ची घ्याङ, तार्के घ्याङ, बोल्दे, ढुंगे, भोटाङ, मानेखर्क, धाप, बाँसखर्क, दुवाचौर, गोब्रे, नवलपुर, बाउनेपाटी वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ ।

थप वर्षा हुनसक्ने सम्भावना रहेको विभागले जनाएको छ । उक्त क्षेत्र भएर बग्ने स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ । त्यसैले कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम भएको भन्दै विभागले तटीय क्षेत्रमा हुनेहरूलाई दिउँसोसम्म सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।