लुम्बिनी मन्त्रिपरिषद्को बैठकले ललितपुरका अनुप बास्कोटालाई प्रदेश सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने निर्णय गरेको छ । उनी यसअघि पनि प्रतिष्ठानको कार्यकारी निर्देशक थिए ।
लुम्बिनी प्रदेश सरकारले प्रतिष्ठान स्थापना गरेसँगै २०७६ सालमा शंकर पोखरेल नेतृत्वको सरकारले बास्कोटालाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेपछि गठन भएको माओवादीका कुलप्रसाद केसी नेतृत्वको सरकारले बास्कोटालाई हटाएर रेगमबहादुर भण्डारीलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो ।
त्यसविरुद्ध बास्कोटा अदालत गएका थिए । अदालतको स्टे अर्डरले भण्डारीको नियुक्त बदर गरिदिएको थियो । त्यसपछि निरन्तर निर्देशकमा रहेका बास्कोटाको समायावधि सकिएकाले लुम्बिनी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुनः ५ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सूचनाको हक कार्यान्वयनसम्बन्धी विषयको प्रदेश अनुगमन इकाई गठन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।
लुम्बिनी प्रदेश तथा स्थानीय तहबीच समन्वय तथा विवाद समााधनसम्बन्धी विधेयकको अवधारणापत्र स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले बताए ।