साझेदारी गर्नुहोस्

राष्ट्रिय सभा अन्तर्गतका संसदीय विषयगत समितिका सभापतिहरूले प्रतिनिधि सभाले विधेयकहरू अड्काइदिएको गुनासो गरेका छन् । प्रतिनिधि सभाले काम नगरिदिंदा राष्ट्रिय सभाले गरेको काम पनि ओझेलमा परेको उनीहरूको गुनासो छ ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विषयगत समितिका सभापतिहरूसँग राष्ट्रिय सभाका समितिहरुको प्रभावकारिता र हिउँदे अधिवेशनको विषयमा छलफल गरेका छन् । त्यसक्रममा विषयगत समितिका सभापतिहरूले प्रयाप्त बिजनेस नरहेको बताए ।

राष्ट्रिय सभामा दर्ता भएका विधेयक पास गरेर प्रतिनिधि सभामा पठाइएको तर, त्यसलाई पास गरेर प्रतिनिधि सभाले नफर्काइदिएको र प्रतिनिधि सभामा दर्ता भएका विधेयकहरू पनि राष्ट्रिय सभामा पुग्न नसकेको उनीहरुको भनाइ छ । प्रतिनिधि सभाले विधेयक अड्काउँदा समग्र संसदको कामकारबाही नै प्रभावित भएको भनेर उनीहरूले नेतृत्वको ध्यानाकर्षण गरेका हुन् ।

छलफलमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमलादेवी पन्त, विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहाल, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्मा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापति सोनाम गेल्जेन शेर्पा सहभागी थिए ।