साझेदारी गर्नुहोस्

यातायात व्यवस्था कार्यालय तनहुँले पाँच महिनाको अवधिमा सात करोडभन्दा बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म रु सात करोड ७१ लाख ६२ हजार एक सय संकलन गरेको हो ।

कार्यालयका अनुसार यातायात क्षेत्रबाट २४ लाख ३२ हजार नौ सय, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी रु एक करोड ४९ लाख एक हजार सात सय ५०, सवारीसाधन कर रु पाँच करोड ७० लाख ५५ हजार एक सय ६० र सवारी आयकर रु २७ लाख ७२ हजार तीन सय ७५ संकलन भएको हो ।

यहाँ स्थापित यातायात व्यवस्था कार्यालयको कार्यक्षेत्र तनहुँ, गोरखा, लमजुङ र मनाङ भए पनि चितवन र धादिङका बासिन्दासमेत सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन आउने गरेका कार्यालय प्रमुख गोपाल ओलीले जानकारी दिए । उनका अनुसार ‘बिलबुक’ नवीकरणमा दुई सय, लाइसेन्स र ‘बायोमेट्रिक’मा दैनिक दुई सय ५० भन्दा बढीले सेवा लिने गरेका  छन् । थोरै जनशक्तिका कारण सेवा प्रवाहमा भने समस्या रहेको कार्यालय प्रमुख ओलीले बताए ।