राज्य व्यवस्था समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐनबारे छलफल हुनु अगाडि नेपाली कांग्रेसका नेताहरु आन्तरिक छलफलमा बसेका छन् ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टी सभापति शेरबहादुर देउवा, कांग्रेस नेता समेत रहेका राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडा, महामन्त्री गगन थापा, प्रमुख सचेतक श्याम घिमिरे र सहमहामन्त्री जीवन परियार छलफलमा बसिरहेका हुन् ।
आज राज्य व्यवस्था समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०५९ मा संशोधन गर्न बनेको विधेयक सम्बन्धमा हृदयराम थानी संयोजकत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल हुँदै छ ।
उपसमितिले मन्त्रिपरिषद बैठकका नीतिगत निर्णय बाहेकमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न सक्ने व्यवस्था सहितको प्रतिवेदन बुझाएको छ । यसमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुले चासो व्यक्त गर्दै आएका छन् ।
यसैबीच आजै नेकपा एमाले र कांग्रेसले गठन गरेका दुई दलीय संयन्त्र र फोकल पर्सन तोकिएका नेताहरुको संयुक्त बैठक बस्ने तयारी समेत छ ।