साझेदारी गर्नुहोस्

दक्षिण कोरियाली अदालतले निलम्बित राष्ट्रपति युन सुक यओलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अनुसन्धानकर्ताहरूका अनुसार उनीविरुद्ध डिसेम्बर ३ मा ‘मार्सल ल’ लागू गर्ने कदमका विषयमा पक्राउ पुर्जी जारी गरिएको हो ।

‘संयुक्त अनुसन्धान मुख्यालयले अनुरोध गरेबमोजिम राष्ट्रपति युन सुक यओलका लागि पक्राउ तथा खानतलासी पुर्जी जारी गरिएको छ,’ संयुक्त अनुसन्धान मुख्यालयले एक विज्ञप्तिमा भनेको छ । निलम्बित राष्ट्रपति तेस्रो पटक सोधपुछका लागि उपस्थित हुन असफल भएपछि अनुसन्धानकर्ताहरूले सोमबार पक्राउ पुर्जीको माग गरेका थिए ।

युनका वकिलले भने अनुसन्धानकर्तासँग राष्ट्रपतिको जाँच गर्ने अधिकार नभएको बताउँदै महाअभियोग लगाइएका राष्ट्रपतिको पक्राउ पुर्जीलाई ‘गैरकानूनी र अमान्य’ भनेका छन् । युनले विद्रोहसम्बन्धी आपराधिक आरोपको सामना गरिरहेका छन् । उक्त मुद्दामा दोषी ठहर भएको खण्डमा उनलाई आजीवन कारावास वा मृत्युदण्डसमेत हुने जनाइएको छ ।

कोरियाली संसद्ले राष्ट्रपति युनविरुद्ध यसअघि नै महाभियोग प्रस्ताव पारित गरिसकेको छ । तर महाभियोगबारे अन्तिम निर्णय भने ९ सदस्यीय संवैधानिक अदालतले गर्नेछ । तीमध्ये ६ न्यायाधीश महाभियोगको पक्षमा रहेको खण्डमा राष्ट्रपति पद रिक्त हुनेछ । त्यसको ६० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने व्यवस्था छ ।

युन निलम्बनमा परेसँगै प्रधानमन्त्री हान डक सुले कार्यवाहक राष्ट्रपति भएका थिए । तर कार्यवाहक राष्ट्रपति हानले प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टीले मनोनीत गरेका न्यायाधीशलाई संवैधानिक अदालतमा नियुक्त गर्न अस्विकार गरेपछि उनीविरुद्ध पनि संसद्‍ले महाभियोग पारित गरेको हो ।