साझेदारी गर्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलले निर्णायक तहमा महिलाको प्रतिनिधित्व अझै पनि सन्तोषजनक नरहेको बताएका छन् ।

मंगलबार आर्थिक वर्ष २०८०/०८१ मा महिला आयोगले सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले धेरै प्रयासका बावजुद केही क्षेत्रमा महिलाको उपस्थिति आशलाग्दो देखिएपनि जनसंख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नभएको बताए ।

‘तर, जनजीवनका अन्य महत्वपूर्ण क्षेत्रमा महिलाको उपस्थिति र योगदानलाई अझ प्रभावकारी माध्यमबाट सुनिश्चित गर्नुपर्ने देखिएको छ, आगामी दिनमा त्यसमा आयोगले अझ सशक्त र प्रभावकारी रुपमा काम गर्नेछ भन्ने मैले विश्वास लिएको छु,’ राष्ट्रपति पौडेलले भने ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष कमला पराजुलीले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई हस्तान्तरण गरिन् । सो अवसरमा आयोगका पदाधिकारीहरू समेत उपस्थित थिए ।