अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा पुनः सैन्य आक्रमण गर्ने भन्ने विषयमा आफू ‘ठूलो निर्णय’को मोडमा पुगेको बताएका छन् । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले द्वन्द्वको समाधान नभए इरानलाई ‘सखाप’ गर्न सक्ने चेतावनी दिएका हुन् ।

महासभामा इरानी प्रतिनिधिमण्डलका एक सदस्य सहभागी भइरहेका बेला ट्रम्पले आफ्नो सम्बोधनका क्रममा शक्ति प्रदर्शनको भाषा प्रयोग गरेका थिए। खचाखच भरिएको सभाहलमा उनले वैश्विक सरकारको अवधारणालाई अस्वीकार गर्दै रुस-युक्रेन युद्धको अन्त्य गराउने र एआईको दौडमा अमेरिकालाई जिताउने प्रतिबद्धता व्यक्त गरे ।

सम्बोधनको सुरुवातमा ट्रम्पले अमेरिकी अर्थतन्त्र, सीमा सुरक्षा र अपराध नियन्त्रणमा आफ्ना उपलब्धिहरूको प्रशंसा गरेका थिए, जुन कूटनीतिज्ञभन्दा पनि आउँदो नोभेम्बरमा हुने अमेरिकी मध्यवधि चुनावका मतदाताहरूप्रति बढी लक्षित देखिन्थ्यो ।

आफ्नो मन्तव्यको ठूलो हिस्सा उनले इरानविरुद्धको युद्धको औचित्य पुष्टि गर्नमा खर्चिए । फेब्रुअरीमा अमेरिका र इजरायलले सैन्य कारबाही सुरु गरेयता विश्वबजारमा कच्चा तेलको मूल्य बढेको छ भने ट्रम्पको लोकप्रियतामा गिरावट आएको छ ।