बेइजिङ । एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त आयोजनामा चीनको राजधानी बेइजिङस्थित होटल लिफनमा छैटौँ ग्लोबल कन्फ्रेन्स तथा अवार्ड समारोह भव्य रूपमा सम्पन्न भएको छ।

समारोहमा नेपाल तथा चीनका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका करिब डेढ दर्जन नेपालीसहित प्रतिष्ठित व्यक्तित्व, व्यवसायी, कलाकार, समाजसेवी तथा विभिन्न क्षेत्रका विज्ञहरूलाई सम्मान गरिएको छ।

नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटन, संस्कृति, आर्थिक तथा व्यावसायिक सहकार्यसँग जोड्दै दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको समारोहमा पर्यटन प्रवद्र्धन, आर्थिक सहकार्य तथा व्यावसायिक सम्बन्ध विस्तारका विषयमा समेत चर्चा गरिएको थियो।

चीनका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनालको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा एसिया प्यासिफिक ट्रेड एग्रिमेन्ट तथा चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका प्रमुख एवं चिनियाँ व्यवसायी वाङ यानसहित चिनियाँ व्यवसायी तथा उद्यमी गुओ कोनी ली, मेई तथा डविलिया औटीलाई विशेष सम्मान प्रदान गरिएको थियो।

समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत खनालले विश्वको महत्वपूर्ण शक्ति राष्ट्र चीनमा यस प्रकारको अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना हुनु आफैंमा महत्वपूर्ण उपलब्धि भएको बताए। यस्ता कार्यक्रमले नेपाल र चीनबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै पर्यटन, आर्थिक गतिविधि तथा दुई देशबीचको सहकार्य विस्तारमा समेत योगदान पुर्‍याउने उनको भनाइ थियो।

विशेष अतिथि वाङ यानले नेपाल र चीनबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई स्मरण गर्दै आपसी सहकार्यलाई अझ व्यापक बनाउँदै लैजानुपर्नेमा जोड दिए।

नेपालबाट सहभागी वरिष्ठ गायक सीताराम पोखरेलले आयोजक संस्थाले विभिन्न मुलुकमा आयोजना गर्दै आएका अन्तर्राष्ट्रिय कार्यक्रमले नेपालको पर्यटन, कला तथा सांस्कृतिक पहिचान प्रवद्र्धनमा योगदान पुर्‍याएको बताए। अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कला, संस्कृति र पर्यटनलाई जोडेर कार्यक्रम आयोजना गरिनु सकारात्मक भएको उनको भनाइ थियो।

त्यस्तै, लुम्बिनी प्रदेशकी पर्यटन विज्ञ तथा लुम्बिनी पर्यटन उद्योगसँग सम्बन्धित नेपाल सरकारकी उच्च अधिकारी शारदा बस्यालले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई चीनमा प्रभावकारी रूपमा प्रवद्र्धन गर्न सके नेपालको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने बताइन्। उनले नेपाल–चीन पर्यटन सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिइन्।

c1d61371-cd70-4c4f-ad59-070e22cad225.jpg

नेपालका वरिष्ठ ईन्जिनियर मोहन संग्रौलाले नेपाल र चीनबीचको सम्बन्ध निकै पुरानो र ऐतिहासिक रहेको उल्लेख गर्दै अरनिकोको समयदेखि कायम रहेको प्रगाढ सम्बन्धलाई आधुनिक आर्थिक तथा व्यावसायिक सहकार्यसँग जोडेर थप विस्तार गर्नुपर्ने बताए।

समारोहमा वरिष्ठ गायक सीताराम पोखरेललाई ‘एपेक्स ग्लोबल विशेष सम्मान’ प्रदान गरिएको थियो। त्यसैगरी शिक्षा, सामाजिक सेवा, कला, गायन, युवा प्रतिभा, व्यवसाय, स्वास्थ्य सेवा तथा पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान गरिएको आयोजकले जनाएको छ।

शिक्षा तथा समाजसेवी सम्मान ललिता प्रसाईँलाई, इन्जिनियरिङ सेवा सम्मान मोहन संग्रौलालाई, कला सम्मान पुरुषोत्तम आचार्यलाई, समाजसेवी सम्मान रिता देवी आचार्य कट्टेललाई, गायन सम्मान गणेश थापालाई तथा यूवा गायन सम्मान  अनामिका चौलागाईँलाई प्रदान गरिएको थियो।

यसैगरी कलाकारिता सम्मान इन्द्रबहादुर लामालाई, प्रवास समाजसेवी सम्मान रमेश आचार्यलाई, हेयर विशेषज्ञ सम्मान सविना खड्कालाई, महिला उद्यमी सम्मान सलिना लामालाई, स्वास्थ्य सेवा सम्मान कृष्ण घिमिरे महिला समाजसेवी सम्मान निशा लामालाई तथा अन्तर्राष्ट्रिय विज्ञ सम्मान दिनेश खनाललाई प्रदान गरिएको थियो।

समारोहमा नेपालका रमा पोखरेल, सुनिता संग्रौला, सबला खड्का (थापा) र ज्योती भट्टराईलाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रम आयोजक संस्थाका प्रमुख तथा नेपाली अभिनेता श्रीदेव भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो। समारोहको सञ्चालन संस्थाका सल्लाहकार सोनीतराज ढुंगेलले गरेका थिए भने समापन राजेन्द्र लुईटेलले गरेका थिए।

समारोहकै क्रममा सातौँ ग्लोबल कन्फ्रेन्स तथा अवार्ड समारोह इन्डोनेसियाको बालीमा आयोजना गर्ने घोषणा गरिएको छ। आगामी संस्करणलाई अझ व्यापक अन्तर्राष्ट्रिय सहभागितासहित नेपाल प्रवद्र्धनसँग जोडेर अघि बढाउने आयोजकको तयारी छ।

नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई सांस्कृतिक, पर्यटन तथा आर्थिक सहकार्यसँग जोड्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान र सम्भावनालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस समारोहले दुई देशबीचको सम्बन्ध विस्तारका लागि नयाँ संवाद र सहकार्यको आधार तयार गरेको आयोजक पक्षले जनाएको छ।