नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशको नेतृत्व गर्नेहरू बिचौलियाको खेलमा सहभागी बनेको आरोप लगाएका छन्।

आइतबार काठमाडौँमा सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले नेतृत्व तह नै बिचौलियासँग मिल्दा देश विकासमा समस्या आइरहेको बताएका हुन्।

‘आज हेर्नुस् केही दिन पहिला नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन युनिभर्सिटीमा भिसीले रिजाइन गर्नुभयो। किनभने मलाई धेरै प्रेसर पर्‍यो मैले सकिनँ भनेर भन्नुभयो।

हामी सक्छौँ तर पटक पटक म एउटै शब्द प्रयोग गर्दैछु- बिचौलियाहरू,’ उनले भने, ‘हाम्रा नेतृत्वहरू बिचौलियाहरूको खेलमा इन्भल्ब हुनुहुन्छ। त्यो कारणले यो समस्या आइरहेको छ।

नेपाललाई विकास गर्ने हो भने, नेपाललाई समृद्ध बनाउने हो भने तीन-चारवटा कुरामा हामीले ध्यान दिनुपर्छ। त्यसो गर्नसके नेपाललाई समृद्ध बनाउन सकिन्छ।’

उनले संविधान संशोधनलाई मुद्दा बनाएर कांग्रेस-एमालेसहितको गठबन्धन बनेको भन्दै ९ महिनासम्म काम नभएकोमा असन्तुष्ट व्यक्त गरे।