साझेदारी गर्नुहोस्

गृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेका आरोपका विषयमा अनुसन्धानका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्। यद्यपि उनले गल्ती नगरेको दाबी गरेका छन्।

यसबारे सोमबार सामाजिक सञ्जालमाफर्त प्रष्टीकरण दिँदै गृहमन्त्री गुरुङले आफूले गलत नगरेको जिकिर गरेका छन्। उनले भनेका छन्, ‘म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु।’

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग गृहमन्त्री गुरुङको व्यवसायिक साझेदारी रहेको आरोप लागेको छ। त्यस्तै, जेनजी आन्दोलनपछि गुरुङले ५० लाखको शेयर खरिद गरेको र त्यसबारे सम्पत्ति विवरण उल्लेख नगरेको समाचार आइरहेका छन्।

यसैलाई लिएर नेपाली कांग्रेसले गृहमन्त्री गुरुङको राजीनामा माग गरेको छ। उनीमाथि छानबिन गर्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ।

त्यस्तै, गृहमन्त्री गुरुङले सोमबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका थिए। यसै विषयमा उनले लामिछानेलाई जानकारी गराएको जनाइएको छ।

रास्वपा सभापति लामिछानेसँगको भेटपछि गृहमन्त्री गुरुङले प्रष्टीकरण दिएका हुन्। उनले आफूमाथि गलत आरोप लगाएको जिकिर गरेका छन्।

‘व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोको रूपमा व्याख्या गर्नु उचित होइन। लगानी गर्नु र बिचौलियापन गर्नु फरक कुरा हुन्, यसलाई मिसाएर राजनीति गर्न सजिलो छ, तर सत्य त्यति सरल हुँदैन,’ उनले भनेका छन्।

शेयर खरिद गरेको विषयमा पनि उनले प्रष्टीकरण दिएका छन्। ‘वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन्। मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जोकोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ,’ उनले भनेका छन्, ‘स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो। यो लुकाउने होइन, वर्गीकरणको विषय हो।’

जेनजी आन्दोलनपछि खरिद गरेको पनि उनले स्वीकारेका छन्। ‘मन्त्री हुनुअघि सेयर किनियो भनिएको छ। यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो? सम्पूर्ण कारोबार बैँकिङ च्यानलमार्फत भएको छ,’ उनले भने, ‘बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ। कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ।’