राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि सङ्घर्ष र बलिदान गरेका नेपाली जनताको मुख्य चाहना सुशासन, प्रभावकारी सेवा प्रवाह, तीव्र आर्थिक विकास, शान्ति र प्रगति भएको बताएका छन्।
लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले जनताको यो चाहना र अभिष्ट पूरा गर्नका लागि आधुनिक समयअनुरूप हाम्रो राज्य संयन्त्रलाई अझ जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउनु आवश्यक रहेको धारणा राखे।
कर्मचारीतन्त्र स्वउत्प्रेरित, अनुशासित, आचरणशील, नैतिकवान् र राष्ट्रप्रति समर्पित भएमा मात्र यो भूमिका परिणाममुखी हुने स्पष्ट पार्दै उनले प्रविधि र स्मार्ट सेवा प्रवाहमार्फत नागरिकको मन जितेर लोकतन्त्रमा जनताको हित हुन्छ भन्ने भरोसा जगाउनुपर्नेमा जोड दिए।
राष्ट्रपति पौडेलले नेपालको संविधानले अङ्गीकार गरेको समावेशी लोकतन्त्रको मर्मअनुरूप स्थापित योग्यता प्रणालीको रक्षा गर्नु र यसको जगलाई थप मजबुत बनाउनु आजको प्रमुख आवश्यकता भएको बताए।
आयोगले अवलम्बन गरेको सिद्धान्त र निष्पक्ष प्रणालीकै कारण देशका मेहनती युवाहरूले लोकतान्त्रिक शासन व्यवस्थामा आफ्नो भविष्य सुरक्षित देख्न पाएको यथार्थलाई बिर्सन नहुने उनको भनाइ थियो।
उनले आयोगले विगतमा हासिल गरेका अनुभव र ज्ञानका साथै विश्वव्यापी रूपमा विकसित आधुनिक सिद्धान्त र प्रणालीको अध्ययन गरी आफ्नो कार्यसम्पादनलाई भविष्यमा थप परिष्कृत र प्रभावकारी बनाउँदै लैजाने विश्वास समेत व्यक्त गरे।
लोकसेवा आयोग सरकारी सेवाका लागि योग्य कर्मचारी छनोट र भर्ना गर्ने एउटा अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील संवैधानिक निकाय भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सधैँ असल र उम्दा जनशक्ति भित्र्याउनका लागि आयोगले आफ्ना कामकारबाहीलाई आधुनिक प्रविधिमा आधारित बनाउनुपर्ने औँल्याए।
कर्मचारी छनोटमा समयसापेक्ष एवं वैज्ञानिक परीक्षण विधि र प्रविधि अवलम्बन गर्नुपर्ने तर्फ विशेष ध्यान दिनुपर्ने उनको सुझाव थियो। कर्मचारी छनोट, बढुवा र परामर्शका क्षेत्रमा आयोगले स्थापनाकालदेखि आजसम्म पुर्याएको योगदान प्रशंसनीय रहेको चर्चा गर्दै उनले यो ऐतिहासिक विश्वास, भरोसा र प्रतिष्ठालाई आगामी दिनमा अझ उचो बनाउन विशेष मेहनत गर्नुपर्ने बताए।
















