साझेदारी गर्नुहोस्

नेपाल नागरिक आवाज नामक पत्रिकाको नयाँ अङ्क  विमोचन गरिएको छ ।  शनिबार काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–१२ स्थित राधाकृष्ण परिसरमा उक्त विमोचन समारोह सम्पन्न भएको हो ।

सीमित तर अर्थपूर्ण उपस्थितिबीच सम्पन्न कार्यक्रमले नागरिक सरोकार र समकालीन विषयवस्तुलाई केन्द्रमा राख्दै नयाँ प्रकाशन सार्वजनिक गरेको हो।

कार्यक्रममा प्रधानसम्पादक मधुसूदन पाण्डेयले सभापतित्व गर्दै पत्रिकाको उद्देश्य र कार्यदिशाबारे स्पष्ट पारे। उनका अनुसार “नेपाल नागरिक आवाज” नागरिकका अनुभव, विचार र यथार्थलाई समेट्ने साझा प्लेटफर्मका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

विशेष वक्ताका रूपमा सहभागी राजनीतिकर्मी रणबहादुर रावलले आफ्नो मन्तव्यमा यस्ता प्रकाशनले लोकतान्त्रिक विमर्शलाई मजबुत बनाउने उल्लेख गरे। उनले नागरिकका आवाजलाई दस्तावेजीकरण गर्ने काममा निरन्तरता आवश्यक रहेको बताए।

कार्यक्रमको सञ्चालन लेखक तथा सम्पादक दुर्गाप्रसाद नेपालले गरेका थिए। सो अवसरमा विभिन्न सर्जकहरूले कविता वाचन प्रस्तुत गरेका थिए। जगत् उपाध्याय, दामोदर पौडेल, ज्ञाननिष्ठ ज्ञवाली, शोभा खरेल, कुर्मराज आचार्य , गोविन्द( जी ) नेपाल र चण्डीराज नेपाल लगायतका सहभागीहरूले आफ्ना रचना प्रस्तुत गरेका थिए।

विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रमले साहित्यिक गतिविधिलाई स्थानीय स्तरमै सक्रिय बनाउने संकेत गरेको छ। आयोजकका अनुसार पत्रीकालाई नयाँ र पुराना पुस्ताहरु जोड्ने साँगुको रुपमा अझ प्रभावकारी बनाउदै लगिने जनाइएको छ ।

“नेपाल नागरिक आवाज” को विमोचनसँगै नागरिक केन्द्रित लेखन र विचार अभिव्यक्तिका लागि नयाँ माध्यम थपिएको लेखक तथा सम्पादक नारायण नेपालले बताए ।