साझेदारी गर्नुहोस्

नेपाल राष्ट्रिय शिक्षक संगठनको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार ललितपुरको कुमारीपाटीस्थित संगठनको कार्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

संघले ४७औँ शिक्षक दिवस तथा नयाँ वर्ष २०८३ को अवसर पारेर शिक्षक आन्दोलनको ऐतिहासिक यात्रा, वर्तमान अवस्था र भविष्यको दिशाबारे गम्भीर छलफल तथा प्रतिबद्धताका साथ सम्पन्न उक्त कार्यक्रमले शिक्षक एकता, पेशागत अधिकार र गुणस्तरीय शिक्षाको सवाललाई केन्द्रमा राखेको छ।

कार्यक्रमको सुरुवात उपाध्यक्ष अम्बिका पोख्रेल चापागाईंको स्वागत मन्तव्यबाट भएको थियो। त्यसपछि राष्ट्रिय गान र शिक्षक गान प्रस्तुत गरिएको थियो भने ब्यानर वाचन र परिचयात्मक कार्यक्रममार्फत औपचारिक उद्घाटन गरिएको थियो। महासचिव प्रकाश खनालले कार्यक्रम सञ्चालन गर्दै सम्पूर्ण शिक्षकलाई गुणस्तरीय शिक्षा र आफ्ना अधिकारको संरक्षणका लागि एकताबद्ध हुन आग्रह गरे ।

कार्यक्रमका अध्यक्ष हंश बहादुर शाहीले प्रस्तुत गरेको कार्यपत्रमा शिक्षक आन्दोलनको ऐतिहासिक पृष्ठभूमिदेखि वर्तमान चुनौती र आगामी रणनीतिसम्मको समग्र विश्लेषण प्रस्तुत गरिएको थियो। उनले २०३६ सालको विद्यार्थी आन्दोलनसँगै सुरु भएको शिक्षक आन्दोलनले २०४६ र २०६२/६३ को ऐतिहासिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्‍याएको स्मरण गराउँदै नेपालको संविधानको धारा ३१ र ३४ ले सुनिश्चित गरेको शिक्षा तथा श्रमिक अधिकार कुनै पनि अवस्थामा खोस्न नसकिने स्पष्ट पारे। उनले ट्रेड युनियन अधिकार जनआन्दोलनबाट प्राप्त उपलब्धि भएकाले यसलाई कुनै पनि शक्तिले लाद्न वा हटाउन नसक्ने धारणा राखे।

कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष बद्री प्रसाद खतिवडाले शिक्षक आन्दोलनले अपेक्षित उपलब्धि हासिल गर्न नसक्नुमा अघिल्ला सरकारका नीतिगत कमजोरीसँगै स्वयं शिक्षक समुदायभित्रको विभाजन र व्यक्तिगत स्वार्थ पनि जिम्मेवार रहेको स्पष्ट पारे। उनले अबको समय एकताबद्ध भएर संगठनलाई सुदृढ बनाउने र दलगत प्रभावभन्दा माथि उठेर जनवर्गीय संगठनको रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। शिक्षकहरूलाई कार्यकर्ता होइन, अधिकार र कर्तव्यप्रति सजग नागरिकको रूपमा स्थापित गर्नुपर्ने उनको भनाइ थियो।

पूर्व अध्यक्ष लक्ष्मण शर्माले शिक्षक आन्दोलन केवल पेशागत हकहितमा सीमित नभई सामाजिक न्याय र रूपान्तरणको आधार भएको उल्लेख गर्दै ट्रेड युनियन अधिकार कुनै पनि हालतमा खारेज हुन नसक्ने दाबी गरे। उनले १९९८ को अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को घोषणापत्रले समेत ट्रेड युनियनको अधिकारलाई सुनिश्चित गरेको स्मरण गराउँदै कानुनी र अन्तर्राष्ट्रिय आधारमा समेत शिक्षक अधिकार सुरक्षित रहेको बताए।

पूर्व अध्यक्ष बाबुराम अधिकारीले शिक्षकहरूको निरन्तर संघर्षकै कारण आजको अवस्था सम्भव भएको भन्दै वर्तमान सरकारले संविधानले सुनिश्चित गरेको अधिकार मिच्न नसक्ने दाबी गरे। यस्तै पुर्व अध्यक्ष विष्णु प्रसाद भण्डारीले संगठन खारेज गर्ने त्रास देखाएर शिक्षकहरूलाई कमजोर बनाउने प्रयास भइरहेको उल्लेख गर्दै यस्ता गतिविधिबाट नडराई आवश्यक परे आन्दोलनमा उत्रिन तयार रहनुपर्ने चेतावनी दिए।

पूर्व अध्यक्ष बाबुराम थापाले इतिहास मेट्ने प्रयासले भविष्यलाई कमजोर बनाउने भन्दै शिक्षक आन्दोलनको गौरवपूर्ण इतिहासलाई संरक्षण गर्नुपर्नेमा जोड दिए। उनले शिक्षकहरू दलगत राजनीतिबाट अलग रही निष्पक्ष रूपमा पेशागत दायित्व निर्वाह गर्नुपर्ने धारणा राखे।

त्यस्तै, माधव अधिकारीले परिवर्तनलाई स्वाभाविक प्रक्रिया बताउँदै समयको उतारचढाव बुझेर धैर्यताका साथ अघि बढ्नुपर्नेमा जोड दिए। उनले न्यूटनको तेस्रो नियम स्मरण गर्दै प्रत्येक क्रियाको प्रतिक्रिया हुने भएकाले विवेकपूर्ण निर्णय आवश्यक रहेको बताए।

सम्पूर्ण वक्ताहरूले एक स्वरमा शिक्षक एकता, पेशागत सुरक्षा, ट्रेड युनियन अधिकारको रक्षा र गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि संगठन सुदृढीकरण अपरिहार्य रहेको निष्कर्ष निकाले। उनीहरूले शिक्षक आन्दोलनलाई अझ व्यापक, समावेशी र प्रभावकारी बनाउँदै सबै तहका शिक्षकहरूको समस्या सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए। कार्यक्रमको अन्त्यमा शिक्षक एकता र अधिकारको रक्षा संगठनको प्रतिबद्धता भएकाले आगामी दिनमा अझ सशक्त र एकताबद्ध शिक्षक आन्दोलन निर्माण गर्ने विश्वास व्यक्त गरिएको थियो।