साझेदारी गर्नुहोस्

नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले एनसेल बिक्री काण्ड हेर्दा हेर्दैको डकैती भएको टिप्पणी गरेका छन्। समाजवादी प्रेस संगठन नेपाल, कास्की शाखाले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले एनसेल बिक्री सिधै हेर्दा हेर्दैको डकैती भएको बताए।

 

एनसेल बिक्री काण्डमा सामेल कोही पनि छुट्न नहुने भन्दै उनले भने, ‘यो लुट, ब्रह्म लुट, सिधै हेर्दा हेर्दैको डकैती हो। यसमा संलग्न कोही पनि नछुटोस्।’ अध्यक्ष नेपालले एनसेलको स्वामित्व अहिले बेच्ने अनि ६ वर्षपछि हस्तान्तरण गर्ने भन्ने सम्झौता नै जालसाजीपूर्ण भएको टिप्पणी गरे। अहिले बेचेर ६ वर्षपछि नेपालीको हातमा आइसकेकाले पुरानो कानून लागु हुँदैन भन्ने देखाउने षडयन्त्रमूलक काम गरेको उनको आरोप छ।  उनले एनसेल बिक्रीलाई वैधानिकता दिन सो अनुकूल कानून बनाउन, भएका प्रावधानमा संशोधन गर्न भनेर मस्यौदा समेत निर्माण भएको जानकारीमा आएको दाबी गरे।

 

यी सबै कुराहरुको छानबिन गर्नुपर्ने भन्दै उनले भने, ‘यसमा अहिले होस् वा पहिले पहिले पनि, कसैले आँखा चिम्लेको छ भने त्यसको छानबिन गरेर कुनैपनि हालतमा दण्डित गर्नुपर्छ।’  एनसेलमा बदमासी गर्नेहरुलाई सजाय दिएर सरकारले देशको हितको रक्षा गर्नुपर्ने उनको भनाई छ।अध्यक्ष नेपालले एनसेल काण्डमा संलग्नलाई कारबाही गर्दा विदेशी लगानी निरुत्साहित नहुने बताए। उनले भने, ‘विदेशी लगानीलाई निरुत्साहित गर्ने होइन। प्रोत्साहित नै गर्नुपर्छ, तर दोषीलाई भने छाड्न हुँदैन।

 

अध्यक्ष नेपालले युवाहरूमा बढेको निराशा तथा पार्टी र नेताप्रति बनेको नकारात्मक धारणाको फाइदा उठाउने प्रयास गरिरहेको आरोप लगाए।  ‘युवाहरूमा बढेको फ्रष्टेसन, निराशालाई देखाएर, पार्टी र नेताहरूप्रति बनेको नकारात्मक धारणालाई देखाएर प्रतिगामी तत्वहरुले टाउको उठाउन थालेका छन्। इतिहासको कालखण्डमा हराइसकेका शक्तिहरुले टाउको उठाउन खोजिरहेका छन्। राजतन्त्र फर्काउन खोजिरहेका छन्। यो कदापि स्वीकार्य हुँदैन, सफल हुँदैन,’ उनले भने।