राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको निर्णयले ठूलो ‘ड्यामेज’ गरेको खण्डमा त्यसलाई रातारात परिवर्तन गर्नुपर्ने बताएका छन्। शुक्रबार रौतहटमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति लामिछानेले निर्णयहरूमा कहिलेकाँही समस्या आउन सक्ने र त्यो परिवर्तनशील हुने बताएका हुन्।
‘भोलि व्यवहारिक रूपमा जसका लागि लाभ होस् भनेर सरकारले निर्णयहरू गरेको छ। त्यो निर्णयले लाभ होइन हानि भएछ भने त्यस्ता निर्णय परिवर्तन हुन्छ। त्यसमा चिन्ता गर्नुपर्दैन,’ उनले भने, ‘यसले धेरै ठूलो ड्यामेज गर्यो भने त्यसलाई रातारात परिवर्तन पनि गर्नुपर्छ।’
उनले हजारौं निर्णय गर्दा दुई चारवटाले विवादमा ल्याउन सक्ने बताए। ‘असल त असल सोचेको हो। तर गर्दै जाँदा, व्यवहारमा जाँदा, फिल्डमा जाँदा… किसानको पक्षमा निर्णय गर्छु भन्दै जाँदा खेरि त्यही निर्णयको परिणाम किसानको विपक्षमा भइदिन पनि सक्छ,’ उनले भने।
सुरूवातमा विवाद हुने कैयौं निर्णय कालान्तरमा सही प्रमाणित हुने पनि उनले बताए।’कहिलेकाहीँ नेतृत्वले एउटा उद्धेश्यका साथ, भिजन देखेर त्यसलाई राखेको हुन्छ। त्यसलाई कार्यान्वयन गर्ने केही चुनौतीहरूले गर्दा त्यो खराब हो कि खत्तम हो कि हुँदैन कि भनेजस्ता भाष्यहरू आउँछन्। सुरूवातमा कैयौं धेरै विवादमा आएका धेरै चिजहरू कालान्तरमा सही प्रमाणित हुन्छन्,’ उनले भने।

















