काठमाडौँको सफ्टवेरिका कलेजले स्मार्ट प्रविधिको प्रदर्शनी कार्यक्रम ‘टेक-एक्स २०२३’ को उद्घाटन गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा उक्त प्रदर्शनी कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रमा राष्ट्रिय स्वतन्त्र पार्टिबाट निर्वाचित संघीय सांसद बिराजभक्त श्रेष्ठ, चर्चित अभिनेत्री केकि अधिकारी लगायतका प्रशिद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रविधिलाई विद्यार्थीको सीप संग जोड्दै आत्मनिर्भर बनाउने उद्देश्यले सन २०१९ बाट निरन्तर उत्पादन मुलक सामग्रीको प्रदर्शन गर्दै आएको यस कलेजले यस वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिएको हो ।
आज बिहिवार कार्यक्रमको उद्घाटन गर्न डिल्लिबजार स्थिति सफ्वेरिका कलेज पुगेकी मन्त्री शर्माले विद्यार्थीहरुको क्षमताको प्रशंसा गरेकी छन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले नेपालमा पछिल्लो समय प्रविधिमा विद्यार्थीहरूको रुचि बढेकोमा आफू खुशी भएको बताइन् । यस्तै उनले भविष्यमा दक्ष जनशक्ति उत्पादन हुनेमा सकारात्मक धारणा समेत व्यक्त गरिन्। साथै उनले सूचना-प्रविधिबारे मानिसहरूलाई व्यावसायिक तालिममार्फत् पनि सिकाउने तयारी गरेको बताइन् ।

कार्यक्रममा सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका प्रोजेक्टहरू प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा ‘रोबो वार’ मुख्य आकर्षणको रूपमा रहेको छ । प्रदर्शनीमा ३० भन्दा बढी प्रोजेक्टका स्टलहरू छन् ।
जसमा स्मार्ट ग्लास (चस्मा) तथा स्मार्ट ब्लाइन्ड स्टिक (दृष्टि विहीनले प्रयोग गर्ने छडी) र होम सेक्युरिटीसहित घरमा अनधिकृत व्यक्तिको घुसपैठ भएको थाहा पाउने सिस्टम रहेका छन्।

साथै, आगलागी सम्बन्धी सूचना दिने फायर अलार्म सिस्टम, स्मार्ट वाच, हेल्थ मनिटरिङ सिस्टम, स्मार्ट ट्राफिक व्यवस्थापन प्रणालीका साथै स्मार्ट प्रिसिजन एग्रिकल्चर सम्बन्धी प्रोजेक्ट समेत राखिने छन्।
आज बाट सुरु भएको उक्त प्रदर्शनी साउन १४ सम्म चल्नेछ । प्रदर्शनी बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निःशुल्क रूपमा अवलोकन गर्न सकिनेछ।
















