देशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातामाटे पिपल चौताराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १५ ग्रामसहित काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ थली बस्ने २१ वर्षीय उमेश परियारलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातामाटेबाट खटिएको प्रहरीले ना.१ ज ६१५५ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१२ नेवारेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ६० मिलिग्रामसहित सोही ठाउँ बस्ने झापा घर भएका १९ वर्षीय अनमोल लामा समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कर्णाली प्रदेश सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

















