साझेदारी गर्नुहोस्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटेर सहकार्यलाई निरन्तरता दिने प्रस्ताव गरेका छन् । बुधबार बिहान अध्यक्ष नेपालको कोटेश्वरस्थित निवास पुगेर सभापति देउवाले आगामी दिनमा पनि सहकार्यको प्रस्ताव गरेका हुन्। भेटवार्तामा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका बारेमा केन्द्रित रहेर अध्यक्ष नेपालसँग कुरा गरिएको र कुराकानी सकारात्मक भएको बताए ।

बैठकपछि उनले सञ्चारकर्मीसँगभने, ‘परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो । सकारात्मक कुराकानी भएको छ । यसलाई निरन्तरता दिन्छौं ।’ देउवाको सहकार्य सम्बन्धी प्रस्तावका बारेमा नेपालले पार्टीमा कुरा राख्ने जवाफ दिएका छन् । एकीकृत समाजवादी केही वर्षदेखि कांग्रेससहितको गठबन्धनमा थियो। तर प्रधानमन्त्री प्रचण्डले देउवा र नेपाल दुवैलाई थाहै नदिई एमालेसँग नयाँ गठबन्धन बनाएका छन् । हिजो पनि प्रचण्ड र एमाले अध्यक्ष ओलीले नेपालसँग सहकार्यको प्रस्ताव गरेका थिए ।