देशैभर मौसम प्रतिकूल रहेसँगै विकट मनाङमा भारी हिमपात भएको छ । अहिले मनाङमा हिमपात हुने बेला हो । कात्तिक अन्तिम सातादेखि यहाँ हिमपात हुने समय हो । यस वर्ष समयमै हिमपात हुँदा किसानमा खुशी छाएको छ ।
मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका पशुपालक किसान सोनाम लामाले परिवारका अन्य सदस्य काठमाडौँ गए पनि आफू र आमा भने पशुचौपायको हेरचाहका लागि गाउँमै बसेको बताएका छन् । उनले भने, ‘परिवारका अरू सदस्य काठमाडौँ गयो । हामी जस्तै यिनलाई पनि भोक लाग्छ त्यसैले हेरचाह गर्न यहीँ छौँ आमा र म ।’ हिमपात भएपछि चिसो बढेको उनले बताए ।

















