परराष्ट्रमन्त्री नारायणप्रसाद साउद आज कतारको दोहा जाँदैछन् । डिसेम्बर १० र ११ मा हुने दोहा फोरम २०२३ मा सहभागी हुन मन्त्री साउद नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । भ्रमणका क्रममा उनले कतारका मन्त्रीहरुसँग ‘साइडलाइन’ वार्ता गर्नेछन् भने हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइको लागि पहल गर्ने बताइएको छ ।
यसअघि साउदले नेपाल आएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल मुखैरीलाई पनि बिपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए। जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए। दोहा फोरम विश्व नेताहरू, सरकारी अधिकारीहरू, बहुपक्षीय संस्थाका प्रमुखहरू, निजी क्षेत्रका कार्यकारीहरू, थिंक ट्याङ्कहरू र विचार निर्माताहरू बीचको संवादको मञ्च हो। फोरममा समसामयिक विश्व र क्षेत्रीय विषयमा छलफल हुने बताइएको छ ।
















