हिजो सोमबार सकारात्मक सर्किट लागेर कारोबार समय अगावै बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक ७० दशमलव ३१ अङ्कले घटेर दुई हजार सात दशमलव ६९ को बिन्दुमा कायम भएको हो । सोमबार एकैदिन परिसूचक एक सय १७ दशमलव ७० अङ्क अर्थात् छ प्रतिशतले बढेको थियो । उच्च अङ्कको वृद्धिपछि आज लगानीकर्ता नाफा बुकमा लाग्दा बजार घटेको हो ।
आज तीन सय छ कम्पनीको एक करोड १४ लाख ६७ हजार पाँच सय ९९ कित्ता ६९ हजार दुई सय आठ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ११ करोड ३६ लाख ७६ हजार नौ सय ५८ बराबरको कारोबार भएको छ । आजको कारोबारमा दुई सय १३ कम्पनीको शेयर मूल्य घट्दा ३३ कम्पनीको मात्रै बढेको छ । नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स तीन दशमलव २४ र फ्लोट इन्डेक्स तीन दशमलव ३७ प्रतिशतले घटेको छ ।
















