सोती घटनामा पुर्पक्षका लागि थुनामा रहेका २३ जनालाई जन्मकैदको सजाय फैसला भएको छ। तीन वर्ष अघि रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर नवराज विक सहित ६ जनाको हत्या भएकाे थियाे।
हत्यापछि जिल्ला अदालत रुकुममा बहस सुरु भएको थियो। तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछुतको मुद्दामाथि रुकुम पश्चिमका जिल्ला न्यायाधीश खड्गबहादुर केसीको इजलासमा सुनुवाइ चलेको थियो। २०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४, राना गाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा पुगेका थिए। त्यही बेला उनीहरूमाथि सोती गाउँका स्थानीयले सामूहिक आक्रमण गर्दा नवराज सहित ६ जनाको ज्यान गएको थियो। मृतक नवराज विकसहित ६ जना उनका साथीहरूको शव भेरी नदी किनारमा खोजी गर्दा फेला परेका थिए।
सामूहिक आक्रमणबाट मृत्यु हुनेमा नवराज विक सहित उनका साथीहरू टिकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार,सन्दीप विश्वकर्मा र गोविन्द शाही थिए। नवराजका बुवा मुनलाल नेपालीको जाहेरीका आधारमा सो घटनामा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्धा चलेको थियाे। उनीहरूमध्ये ११ जना तारेखमा छुटिसकेका छन् भने २३ जनालाई जन्मकैदको फैसला भएको हाे।

















