अर्जुनधाराका डम्बर चौधरीले गत वर्ष पाँच बिघा जग्गामा पचौली नामक जडीबुटीको खेती थालनी गरे । रोपेको तीन महिनापछि यसको बुट्यानबाट घाँस काटेर बिक्री गर्न थाले ।
यसको काँचो घाँस प्रतिकेजी २० रुपैयाँ र सुकेको घाँस १०० रुपैयाँमा बिक्री हुने भएकाले पचौली खेतीको आम्दानीबाट सन्तुष्ट रहेको उनले बताए । मेचीनगर–१४ दुहागढीमा २०७० सालमा कुलायन नेचुरल हर्बल प्रालि स्थापना भएपछि चौधरीले जस्तै मेचीनगर, अर्जुनधारा, भद्रपुर र बुद्धशान्ति पालिकाका कृषक तथा सामुदायिक वनहरूले पचौली र लेमनग्रासको खेती ठूलो मात्रामा थालेका हुन् ।
कुलायन नेचुरल हर्बल उद्योग आफैंले पनि ५० बिघा जग्गा भाडामा लिएर उद्योग सञ्चालन र जडीबुटी खेती गरिरहेको छ ।
कालो हर्दी, युकिलिप्टस (मसला), तेजपत्ता, नगरमोथे, बोझो, भेटिबर, लेमनग्रास, सिट्रोनेला, पामरोजा, पचौलीलगायतका जडीबुटीजन्य वनस्पतिलाई प्रशोधन गरेर उद्योगले सुगन्धित तेल उत्पादन गर्दै आएको
















