नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ टोकियो पुगेका छन्। नेपाल एयरलायन्सको विमानबाट शुक्रबार राति पाँच दिने भ्रमणका लागि जापान प्रस्थान गरेका उनी शनिबार बिहान नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। विमानस्थलमा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले उनलाई स्वागत गरे। नेपाली जनप्रगतिशिल मञ्च जापानको निमन्त्रणामा गएका उनी जापानमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ।
प्रचण्डले शनिबार जापानको फुकुओकामा आयोजना हुने ‘नेपाल फेस्टिभल सेरोमनी’को उद्घाटन गर्ने कार्यक्रम छ। आइतबार हिरोसिमाको भ्रमण गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। हिरोसिमा घटना भएको ७५ वर्ष पुग्दैछ। प्रचण्डले आइतबार नै टोकियोमा हुने नेपाली जनप्रगतिशिल मञ्चको नेपाली समुदायहरुबीच ‘समृद्ध नेपालको आधार: आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तरक्रियामा प्रमुख अतिथिको रुपमा सहभागी बन्नेछन्। जापानमा रहँदा अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
















