राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्खु कारागारबाट सम्बोधन गर्दै प्रधानमन्त्री र सरकारमाथि कठोर आरोप लगाएका छन्।
लामिछानेले आफ्नो सन्देशमा भनेका छन्, “ अब आततायीहरूलाई एक मिनेट पनि सत्तामा रहन दिनुहुन्न ।”
उनले जेनजी पुस्तालाई सडकमा ल्याउन सरकारकै कुशासन, भ्रष्टाचार र क्रूरता बाध्यकारी भएको आरोप लगाए। ‘सिपालु सिकारीले चरा मारेझैँ स्कुले पोसाक लगाएका अबोध बालबालिकालाई गोली हानेर मारियो,’ उनले जारी गरेको सन्देशमा भनिएको छ ।
उनले काठमाडाैँमा आइतबार जेन.जी. आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोलीबाट विद्यार्थीको मृत्यु भएको घटनालाई ‘नेपाली इतिहासकै कालो दिन’ भन्दै सरकारलाई तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।
सभापति लामिछानेले वर्तमान संकट समाधानका लागि चार बुँदे प्रस्ताव अघि सारेका छन् :
१. सकेसम्म छिटो जेनजीसहित अन्तरिम नागरिक सरकार गठन।
२. २०४६ सालपछिका सबै नीतिगत निर्णयको समीक्षा र उच्चपदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन।
३. संसदमार्फत अनुमोदन हुने गरी संविधान संशोधन, परिमार्जन वा पुनर्लेखनका लागि विज्ञ समिति।
४. भदौ २३ को घटनाको छानबिनका लागि न्यायिक आयोग गठन, जसले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मको जिम्मेवारी तोक्ने।

















