नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समकालीन नेपाली राजनीतिमा उदाउँदो युवा नेतृत्वका रूपमा चिनिन्छिन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधित्व गर्ने गौतम युवाको आवाजलाई नीतिगत तहसम्म पुर्याउने स्पष्ट सोचका साथ राजनीतिमा सक्रिय छिन्।
विसं २०५२ असार ३ गते दोलखामा जन्मिएकी गौतम हाल चितवनको भरतपुर महानगरपालिकालाई स्थायी बसोबास बनाउँदै आएकी छन्। सामान्य पारिवारिक परिवेशमा हुर्किएकी उनका बुबा कृष्णप्रसाद गौतम आमा र एक भाई छन्।
शिक्षातर्फ रुचि राख्ने गौतमले माध्यमिक तहको अध्ययन भक्तपुरको एक विद्यालयबाट सम्पन्न गरेकी थिइन्। त्यसपछि उनले कानुन विषयमा स्नातक पूरा गरेकी छन् भने हाल काठमाडौं स्कुल अफ ल मा एलएलएम अध्ययनरत छिन्।
राजनीतिमा प्रवेशअघि नै कानुन, मानव अधिकार तथा सार्वजनिक सरोकारका विषयमा सक्रिय रहेएकी गौतमले विभिन्न युवा अभियान र नीतिगत बहसमा आफ्नो उपस्थिति जनाउँदै आएकी थिइन्। कानुनी समस्या र अधिकार उल्लंघनका विषयलाई कानुनी प्रक्रियामार्फत समाधानतर्फ लैजाने अनुभव उनीसँग रहेको छ।
















