अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका लागि ‘शान्तिको अन्तिम अवसर’ बाँकी रहेको बताएका छन् । दुई देशबीच वार्ताको प्रयास भइरहेको चर्चा चलिरहेका बेला ट्रम्पको यस्तो भनाइ आएको हो ।
राष्ट्रपति ट्रम्पले सम्झौताका लागि ‘महत्त्वपूर्ण प्रगति’ भइरहेको दाबी गरे पनि इरानले भने वार्ताका रिपोर्टहरूलाई ‘फेक न्युज’ भन्दै खण्डन गरेको छ । यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पाकिस्तानमा इरानी अधिकारीसँग भेट्न सक्ने चर्चा चलेको थियो ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले कूटनीतिक छलफल अत्यन्तै संवेदनशील हुने भएकाले सञ्चारमाध्यममा आएका अड्कलबाजीकै भरमा निष्कर्षमा पुग्न नहुने स्पष्ट पारेकी छन् । उनले भनिन्, “अवस्था अझै तरल छ, ह्वाइट हाउसले आधिकारिक पुष्टि नगरेसम्म कुनै पनि बैठकलाई अन्तिम मान्न सकिँदैन ।”
अमेरिकाले सञ्चारमाध्यममार्फत कूटनीतिक बार्गेनिङ नगर्ने पनि उनले उल्लेख गरेकी छन् । इरानले भने अमेरिकासँगको वार्ताका विषयमा आएका खबर निराधार रहेको दाबी गर्दै आएको छ ।
















