साझेदारी गर्नुहोस्

काठमाडौँ महानगरपालिका क्षेत्रमा आजदेखि धुमपान निषेध गरिएको छ । महानगरले आजदेखि लागू हुने गरी महानगर क्षेत्रभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण रोक लगाएको हो महानगरपालिकाको स्वास्थ्य विभागले मंसिर १२ गते एक सूचना जारी गर्दै प्लास्टिकमा प्याक गरिएका चुरोट, बिडी, तमाखु, खैनी, गुट्खा र पान परागजस्ता सुर्तीजन्य पदार्थहरूको बिक्री वितरण आफ्नो क्षेत्रभित्र गर्न नदिने जानकारी गराएको थियो ।

कसैले अवज्ञा गरेर बिक्री वितरण गरेको पाइए महानगर प्रहरीमार्फत जफत गरी कानुनअनुसार अधिकतम सजाय गरिने महानगरको चेतावनी छ । त्यस्ता पदार्थ कसैले बिक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्ने चेतावनी समेत विभागले दिएको छ । काठमाडौँ महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा यस सम्बन्धी व्यवस्था रहेको र ऐनको दफा ४२ अनुसार सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोग लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था रहेको पनि विभागले जनाएको छ ।