साझेदारी गर्नुहोस्

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव तथा हीरक जयन्तीको अवसरमा देशका विभिन्न क्षेत्रमा ऐतिहासिक योगदान पुर्‍याएका अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान अर्पण गरेको छ।

‘अग्रणी महिला सम्मान’ शीर्षकमा आयोजित उक्त कार्यक्रममा राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकुद लगायत विविध क्षेत्रमा योगदान दिएका जीवित तथा दिवंगत व्यक्तित्वहरूको योगदानको स्मरण गर्दै सम्मान गरिएको हो।

सम्मानित व्यक्तित्वहरूलाई रामवरण यादव, हीरक जयन्ती समारोह समितिका अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ लगायतले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए।

कार्यक्रममा ओनसरी घर्ती मगर, अष्टलक्ष्मी शाक्य, लैंगिक अधिकार विज्ञ चाँदनी जोशी, पहिलो महिला इन्जिनियर शान्ति मल्ल, शिक्षाविद् अगाथा थापा, पहिलो महिला कमर्शियल पाइलट रक्षा राणा लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

त्यसैगरी कला तथा मनोरञ्जनतर्फ भुवन चन्द, मनिषा कोइराला, कलाकार स्नेहा श्रेष्ठ, ओलम्पियन संगिना वैद्य, दृष्टिविहीन शिक्षिका सीता ज्ञवाली लगायतलाई पनि विशेष रूपमा सम्मान समर्पण गरिएको छ।

कार्यक्रममा नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्की को योगदानको स्मरणसमेत गरिएको थियो।

यस्तै, विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका दिवंगत व्यक्तित्वहरू—योगमाया न्यौपाने, पारिजात, शैलजा आचार्य, सहाना प्रधान, पासाङ ल्हामु शेर्पा लगायतको योगदानको कदर गर्दै सम्मान अर्पण गरिएको थियो।

नेपाल महिला चेम्बरसँग आबद्ध भई हालै सम्पन्न निर्वाचनबाट संघीय सांसद बन्न सफल लिमा अधिकारी, बसुमाया तामाङ, नीतिमा कार्की भण्डारी तथा इन्दिरा राना मगर लाई समेत कार्यक्रममा सम्मान गरिएको थियो।

दिवंगत व्यक्तित्वहरूका हकमा परिवारजनमार्फत सम्मान अर्पण गरिएको चेम्बरले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले विभिन्न क्षेत्रका पथप्रदर्शक महिलाहरूलाई सम्मान गर्न पाउनु गौरवको विषय भएको उल्लेख गर्दै उनीहरूको योगदानले नयाँ पुस्तालाई प्रेरणा प्रदान गरिरहेको बताए।

समारोह समितिका अध्यक्ष श्रेष्ठले २००७ सालमा स्थापना भएको चेम्बरको हीरक जयन्ती अवसरमा आयोजना गरिएको यस कार्यक्रमले नेपाली समाजमा महिला योगदानको उच्च मूल्यांकन गरेको बताए।

त्यसैगरी अध्यक्ष अग्रवालले चेम्बरको गौरवपूर्ण इतिहासलाई यस्ता कार्यक्रमले अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै महिलाहरूको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न सहयोग पुग्ने बताए।

नेपाल महिला चेम्बरकी अध्यक्ष श्रेष्ठले महिला सशक्तिकरण र उद्यमशीलता विकासलाई केन्द्रमा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिइन्।

सम्मानितहरूको तर्फबाट चाँदनी जोशी ले ऐतिहासिक पृष्ठभूमि बोकेका महिलाहरूको योगदानको स्मरण गर्दै यस्तो कार्यक्रम आयोजना गरिएकोमा आभार व्यक्त गरिन्।