साझेदारी गर्नुहोस्

कोरोना संक्रमितको सङ्ख्या बढ्न थालेसँगै आरटी पीसीआर परीक्षण गर्न माग भएको बेला धादिङमै पिसिआर परीक्षण हुने भएको छ। कोरोना लागे नलागेको परीक्षण गर्ने पिसिआर मेसिन राखेर धादिङबेंसीमा स्वाव परीक्षण गर्ने नीतिगत निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख जगन्‍नाथ नेपालले बताए।

सांसद खेम लोहनी, भूमि त्रिपाठी र जिल्ला समन्वय समितिका प्रमुख नेपालको पहलमा पिसिआर मेसिन जिल्लामा ल्याउन लागिएको हो।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलको अध्यक्षतामा बसेको केन्द्रीय कोरोना कोषको बैठकले रु एक करोडको लागतमा पीसीआर मेसिन खरिद गर्ने प्रक्रिया अघि बढेको बताइएको छ।

जिल्ला समन्वय समितिले मेसिन खरिदसँगै परीक्षणस्थल समेत तय गरी जिल्लामा कोरोना परीक्षण गर्ने व्यवस्थापन गरिने कार्यक्रम रहेको छ। ठूलो ल्याब र यसका लागि जनशक्ति समेत व्यवस्थापन गरी दुई महिनाभित्र परीक्षण गर्ने सकिने योजना रहेको बताइएको छ। अर्थ मन्त्रालयले स्वीकृति दिएसँगै जिल्लामै पिसिआर परीक्षण हुने भएपछि जिल्लावासी खुसी भएका छन्। केही समयदेखि धादिङमा सङ्क्रमितको सङ्ख्या थपिइरहेको र कोरोनाको लक्षण देखिएका बिरामीहरु समेत धेरै रहेको स्वास्थ्यकर्मीको भनाइ छ।