साझेदारी गर्नुहोस्
जग्गा खण्डीकरण (कित्ताकाट)को खुकुलो गरेकोमा आलोचना भइरहदाँ मोरंगका घर जग्गा कारोबार व्यवसायीहरुले सरकारको निर्णयको स्वागत गरेका छन्।

घर जग्गा ब्यवसायी संघ मोरंगद्धारा बुधबार जारी विज्ञप्तीमा सरकारले गरेको सो निर्णयको यथाशिघ्र कार्यान्वयको माग समेत गरेको छ।

संघका अध्यक्ष घनश्याम पोखरेलका अनुसार जग्गा कित्ताकाटको प्रावधान नहुदाँ घरजग्गा ब्यवासयको क्षेत्रको ठूलो लगानी जोखिममा रहेको थियो।

अध्यक्ष पोखरेलले भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्रालयबाट गरिएको पत्रचारको स्वागत गरिएको बताए। यद्धपी, अझैपनि मालपोत कार्यालयहरुले सरकारको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिरहेको उनले गुनासो गरे।

सरकारको निर्णय तत्काल कार्यान्वयन गरि जग्गा कित्ताकाटको प्रक्रिया सुरु गर्न माग गरेको उनले बताए। उनले भने, ‘अन्यथा सरकारको निर्णय कार्यान्वयन गराउन हामी घरजग्गा व्यवसायीहरु चरणबद्ध आन्दोलनमा अघि बढ्न बाध्य हुनेछौं।’

विज्ञप्तीमा भू-उपयोग नियमावली जारी भई भू-उपयोग नक्सा डाटा तयार गरी स्थानीय तहलाई हस्तान्तरण भएपछि सोका आधारमा हुने गरी र हाललाई भू-उपयोग ऐन २०७६ र प्रचलित कानूनको परिधिमा रही जग्गाको कित्ताकाट सम्बन्धी व्यवस्था खुलाउन विभागमार्फत मातहत कार्यलयहरुमा निर्देशन दिने भनि गरिएको पत्राचारले हाल जग्गाको कित्ताकाट गर्न गराउन कुनै बाधा नरहेको जनाइएको छ।

विगत ३७ महिनाबाट जग्गा खण्डीकरणको कार्यमा सरकारले रोक लगाउदै आएको थियो।सोही क्रममा मन्त्रालयले भदौं २२ गते जग्गा खण्डीकरण सम्बन्धको भूमिसुधार तथा मालपोत कार्यालयलाई पत्र पठाएको थियो।