काठमाडौँ । आगामी निर्वाचन नजिकिँदै जाँदा काठमाडौँ–३ मा समानुपातिक उम्मेदवार लक्की शेर्पाको सक्रियता उल्लेखनीय रूपमा बढेको छ। लामो समयदेखि आदिवासी जनजाति अधिकार, समावेशी लोकतन्त्र र सामाजिक न्यायका मुद्दामा काम गर्दै आउनुभएकी शेर्पा अहिले मतदाताको घर–घर पुगेर आफ्नो प्रतिबद्धता दोहोर्याइरहनुभएको छ।

पूर्व संविधानसभा सदस्य तथा प्रतिनिधि सभा सदस्य रहिसक्नुभएकी शेर्पाले राजनीतिक अनुभवलाई सामाजिक सेवासँग जोड्दै अघि बढ्नुभएको छ। सन् २०१६ देखि २०१९ सम्म अष्ट्रेलिया तथा न्यूजिल्याण्डका लागि नेपालको राजदूतको रूपमा जिम्मेवारी सम्हाल्दा उहाँ पहिलो आदिवासी महिला राजदूतको रूपमा परिचित हुनुभयो। आफ्नो कार्यकालमा नेपाल–अष्ट्रेलिया सम्बन्ध सुदृढीकरण, प्रवासी नेपालीसँग सहकार्य विस्तार तथा आर्थिक–सांस्कृतिक कूटनीति प्रवर्द्धनमा उहाँको भूमिका स्मरणीय मानिन्छ।
यतिबेला काठमाडौँ–३ मा उहाँको घरदैलो अभियानले विशेष चर्चा पाएको छ। स्थानीय टोल–बस्तीमा पुगेर वृद्धवृद्धा, महिला, युवा र व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गर्दै उहाँले विकास, सुशासन र समावेशी प्रतिनिधित्वका मुद्दा उठाइरहनुभएको छ। मतदातासँग नम्रतापूर्वक हात जोड्दै “जनताको भरोसा नै मेरो शक्ति हो” भन्ने सन्देश दिँदै अघि बढ्नुभएको देखिन्छ।

उहाँ ‘जनताको छनोट, योग्य व्यक्तिको छनोट’ भन्ने नारासहित सूर्य चिन्हमा मतदान गर्न अपिल गरिरहनु भएको छ। राजनीतिसँगै सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएकी शेर्पाले विशेषगरी महिला सशक्तीकरण, आदिवासी जनजातिको प्रतिनिधित्व र समावेशी नीतिनिर्माणमा आफ्नो प्राथमिकता रहने बताउनुभएको छ। स्थानीय बासिन्दाहरूले उहाँको सरल स्वभाव, कूटनीतिक अनुभव र राष्ट्रिय–अन्तर्राष्ट्रिय पहुँचलाई सकारात्मक रूपमा लिएको देखिन्छ।
काठमाडौँ–३ को राजनीतिक प्रतिस्पर्धा यसपटक रोचक बन्ने संकेत देखिएको छ। तर लक्की शेर्पाको घरदैलो अभियान, समावेशी एजेन्डा र दीर्घ अनुभवले मतदातामाझ नयाँ ऊर्जा थपेको राजनीतिक विश्लेषकहरू बताउँछन्।
आगामी निर्वाचनले काठमाडौँ–३ मा कस्तो परिणाम ल्याउने हो, त्यो मतपेटिकाले तय गर्नेछ। तर यतिबेला भने लक्की शेर्पाको सक्रियता र जनसम्पर्क अभियानले क्षेत्रको चुनावी माहोललाई थप तातेको छ ।
















