साझेदारी गर्नुहोस्

मेष राशि

यस सप्ताह राजनीति, समाजसेवा तथा सार्वजनिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको प्रभाव उल्लेखनीय रूपमा बढ्नेछ। नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। व्यवसायमा क्रमशः सुधार भई आम्दानी वृद्धि हुने संकेत छन्। दीर्घकालीन योजनामा केन्द्रित भएमा लाभ मिल्नेछ। इमानदार र निरन्तर प्रयासको मूल्यांकन उच्चस्तरबाट हुन सक्छ। अध्ययन तथा बौद्धिक क्षेत्रमा रुचि बढ्नेछ। प्रविधि र सामाजिक सञ्जालको माध्यमबाट विचार र सन्देश प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिनेछ। तर, बिहीबारपछि स्वास्थ्य कमजोर हुन सक्ने भएकाले थकान, रक्तचाप वा टाउकोसम्बन्धी समस्या देखिन सक्छ। अनावश्यक यात्रा, हतारो निर्णय र जोखिमपूर्ण गतिविधिबाट टाढा रहनु उचित हुनेछ।

 

बृष राशि

सप्ताहको प्रारम्भ र अन्त्यतिर बौद्धिक, सिर्जनात्मक तथा कलात्मक क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त हुनेछ। लेखन, संगीत, अध्यापन तथा अनुसन्धानमा संलग्न व्यक्तिहरू लाभान्वित हुनेछन्। धार्मिक तथा आध्यात्मिक गतिविधिप्रति आकर्षण बढ्नेछ, जसले मानसिक शान्ति प्रदान गर्नेछ। व्यवसायिक दृष्टिले समय सकारात्मक छ र अड्किएका कामहरू अघि बढ्नेछन्। पारिवारिक सहयोगले आत्मविश्वास बढाउनेछ।
यद्यपि, सप्ताहको मध्यभागमा आलोचना, आरोप वा प्रशासनिक झन्झट देखिन सक्छ। सरकारी तथा सार्वजनिक काममा कागजी प्रक्रिया र नियम पालना नगर्दा समस्या आउन सक्ने भएकाले विशेष सावधानी आवश्यक हुनेछ।

 

मिथुन राशि

यस सप्ताह सामान्य फलदायी रहनेछ। सामाजिक सम्बन्धमा उतारचढाव देखिन सक्छ र साथी वा आफन्तसँग वैचारिक मतभेद उत्पन्न हुन सक्छ। नयाँ लगानी वा जोखिमपूर्ण निर्णय हाललाई स्थगित गरी भइरहेका कार्यलाई निरन्तरता दिनु बुद्धिमानी हुनेछ। प्रेम सम्बन्धमा भ्रम, शंका वा असमझदारी देखिन सक्छ, त्यसैले खुला संवाद आवश्यक छ।
मंगलबार र बुधबार अपेक्षाकृत अनुकूल रहनेछन्। सरकारी काम, कानुनी प्रक्रिया तथा अध्ययनमा प्रगति हुनेछ। धार्मिक वा सांस्कृतिक यात्राको सम्भावना देखिन्छ, जसले मानसिक सन्तुलन कायम गर्न सहयोग पुर्‍याउनेछ।

 

कर्कट राशि

विद्यार्थी, परीक्षार्थी तथा प्रतिस्पर्धात्मक क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि समय उत्साहजनक रहनेछ। मेहनतअनुसार परिणाम प्राप्त हुने सम्भावना प्रबल छ। व्यवसायबाट अपेक्षाकृत राम्रो लाभ मिल्नेछ। प्रेम सम्बन्धमा भावनात्मक सामीप्य बढ्नेछ र सकारात्मक समय रहनेछ।
तर, सप्ताहको मध्यभागमा सवारीसाधन प्रयोग गर्दा सावधानी अपनाउनु आवश्यक छ। खानपानमा लापरवाहीले स्वास्थ्यमा समस्या देखिन सक्छ। पारिवारिक विषयमा सानो कुराले विवाद निम्त्याउन सक्ने भएकाले संयमित व्यवहार गर्नु उचित हुनेछ।

 

सिंह राशि

पुराना अधुरा कार्य सम्पन्न हुने भएकाले आत्मविश्वास र मनोबलमा वृद्धि हुनेछ। न्यायिक, प्रशासनिक तथा व्यवसायिक क्षेत्रमा सफलता मिल्ने योग छ। नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिहरूको प्रतिष्ठा बढ्नेछ। प्रेम र मित्रताको सम्बन्ध अझ सुदृढ हुनेछ।
तर, बिहीबारपछि स्वास्थ्यसम्बन्धी समस्या, सवारीसाधन प्रयोगमा लापरवाही र पारिवारिक तनाव देखिन सक्छ। आवेगमा निर्णय नगरी सोचविचार गरेर अघि बढ्नु आवश्यक हुनेछ।

 

कन्या राशि

अध्ययन, अनुसन्धान तथा सीप अभिवृद्धिमा उल्लेखनीय प्रगति हुनेछ। छोटो वा लामो दूरीको यात्राको सम्भावना देखिन्छ। पारिवारिक सहयोग र समन्वयका कारण व्यवसायिक लाभ मिल्नेछ। प्रेम सम्बन्धमा स्थिरता र विश्वास बढ्नेछ।
तर, न्यायिक वा कानुनी मामिलामा ढिलासुस्ती नगर्नुहोस्। स्वास्थ्य कमजोर हुनुका साथै आकस्मिक खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ।

 

तुला राशि

पढाइ तथा प्रतिस्पर्धात्मक क्षेत्रमा मन नलाग्ने अवस्था देखिन सक्छ। आत्मविश्वास कमजोर महसुस हुन सक्छ। न्यायिक विवाद वा कानुनी झन्झटबाट टाढा रहनु नै उपयुक्त हुनेछ। स्वास्थ्यमा गिरावट, निद्राको कमी र मानसिक तनावको सम्भावना देखिन्छ।
तर, सप्ताहको मध्यतिर परिस्थितिमा क्रमशः सुधार आउनेछ। आफन्त, साथीभाइ तथा शुभचिन्तकको सहयोग प्राप्त हुनेछ, जसले मनोबल बढाउनेछ।

 

वृश्चिक राशि

पढाइ, लेखन तथा बौद्धिक कार्यमा सकारात्मक परिणाम प्राप्त हुने समय छ। यात्रा तथा दाजुभाइको सहयोगले आत्मबल बढ्नेछ। प्रेम सम्बन्ध प्रगाढ भई भावनात्मक समझदारी बढ्नेछ। विचार, भाषण वा लेखनमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सकिनेछ।
तर, राजनीतिक तथा सामाजिक क्षेत्रमा आलोचना, विरोध वा गलत व्याख्या हुन सक्ने भएकाले बोली र व्यवहारमा संयमता आवश्यक हुनेछ।

धनु राशि

व्यवसायमा उन्नति र आम्दानी वृद्धिको स्पष्ट संकेत देखिन्छ। दीर्घकालीन योजनामा लगानी गर्न उपयुक्त समय मान्न सकिन्छ। पारिवारिक जमघट, उत्सव तथा मनोरञ्जनको अवसर प्राप्त हुनेछ।
तर, मंगलवारपछि घरेलु समस्याले मानसिक तनाव दिन सक्छ। पढाइमा ढिलाइ, प्रेम सम्बन्धमा मतभेद र राजनीतिक क्षेत्रमा अपेक्षाकृत सुस्तता देखिन सक्छ। धैर्य र सहनशीलता आवश्यक रहनेछ।

 

मकर राशि

मनोरञ्जनात्मक तथा व्यावसायिक यात्राको योग छ। सामाजिक सम्पर्क विस्तार हुनेछ। वाणी प्रभावशाली रहने भएकाले वार्ता, प्रस्तुति तथा सम्झौतामा सफलता मिल्नेछ। व्यापार, परामर्श, लेखन तथा व्यवस्थापनसम्बन्धी कार्यमा उल्लेखनीय उपलब्धि हासिल हुनेछ।
न्यायिक तथा प्रशासनिक क्षेत्रमा अनुकूलता रहनेछ भने घर-जग्गा वा भौतिक सम्पत्ति जोड्ने अवसर पनि प्राप्त हुन सक्छ।

कुम्भ राशि

सप्ताहको प्रारम्भमा खर्च वृद्धि, थकान र स्वास्थ्यसम्बन्धी समस्या देखिन सक्छ। विश्वासको गलत प्रयोगबाट आर्थिक वा भावनात्मक धोका हुन सक्ने भएकाले सतर्क रहनु आवश्यक छ।
तर, मंगलबारपछि समय क्रमशः अनुकूल हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। नयाँ प्रविधि, अनलाइन माध्यम तथा नवप्रवर्तनको उपयोगले आम्दानी वृद्धि हुनेछ। प्रेम र पारिवारिक सम्बन्ध सुमधुर रहनुका साथै आपसी समझदारी बढ्नेछ।

 

मीन राशि

पैत्रिक सम्पत्ति, जमिन तथा प्राकृतिक स्रोतको सदुपयोगबाट आर्थिक लाभ मिल्नेछ। अध्ययन तथा अनुसन्धानमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ। व्यवसाय स्थिर र लाभदायक रहनेछ। वैदेशिक यात्रा, विदेशमा अध्ययन वा प्रवासमा कार्यरत व्यक्तिहरूका लागि समय अनुकूल छ।
तर, मध्यसप्ताहमा स्वास्थ्य तथा पारिवारिक विषयमा सानो समस्या देखिन सक्छ। समयमै ध्यान दिएमा ठूलो समस्या टार्न सकिनेछ।