साझेदारी गर्नुहोस्

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका चर्चित डिजे युवराज भण्डारी अर्थात “डिजे युवा” पुनः चर्चाको केन्द्रमा आएका छन् ,  तर यसपटक संगीत होइन, एक दशक लामो पीडादायी कानुनी संघर्षमा पाएको ऐतिहासिक जितका कारण।

कुनै समय नेपालको सांगीतिक क्षेत्रमा डिजे संस्कृतिलाई नयाँ उचाइमा पुर्‍याउने नाम थियो, युवराज भण्डारी, अर्थात् ‘डिजे युवा’। आकर्षक गेटअप, फरक स्टाइल र ऊर्जाशील प्रस्तुतीका कारण उनले नेपालमा मात्रै होइन, विदेशमा समेत डिजेयिङमार्फत लोकप्रियता कमाए।

म्युजिक भिडियोहरूमा उनको अभिनय र व्यक्तित्वले थुप्रै युवायुवतीलाई आकर्षित गर्‍यो। करिब एक दशकसम्म उनी संगीत र डिजे क्षेत्रमा राज गरिरहेका थिए।

तर जीवन सधैं एउटै लयमा नचल्दो रहेछ।

नेपालमा डिजे संस्कृतिको प्रारम्भिक चरणमै आफ्नो फरक शैली, आकर्षक गेटअप र संगीतप्रतिको मोहका कारण अपार लोकप्रियता कमाएका डिजे युवा देश–विदेशमा डिजेयिङ गर्दै सांगीतिक क्षेत्रमा लगभग एक दशकसम्म राज गरेका थिए। उनका त्यतिबेलाका गीत र म्युजिक भिडियोहरू आज पनि उतिकै लोकप्रिय छन्। तर जीवनले उनीमाथि ल्याएको अप्रत्याशित कानुनी र घरायसी आँधीबेहरीले उनको करिअरलाई गम्भीर रूपमा प्रभावित गर्‍यो।

घरायसी संकट र कानुनी जालोमा फँसिएको जीवन

डिजे युवाको जीवनमा सबैभन्दा ठूलो मोड तब आयो, जब उनकी पत्नी स्व. भिबेक इट्जेन मेयरको मृत्यु (२०१०, काठमाडौंस्थित टिचिङ अस्पताल) पश्चात् नर्वेमा रहेको उनको सम्पत्तिसम्बन्धी उत्तराधिकार विवाद कानुनी रूप लियो। मेयरको सम्पूर्ण सम्पत्ति आफूलाई हस्तान्तरण गर्नुपर्ने माग गर्दै स्व. मेयरका पूर्वपति र उनका परिवारले नर्वेको अदालतमा दाबी दर्ता गरे।

यस क्रममा नर्वेमा निजी प्रोबेट प्रक्रिया अघि बढाइँदा डिजे युवालाई जानकारी नै नदिइ उत्तराधिकारी सूचीबाट हटाइएको, वैवाहिक अवस्था गलत रूपमा ‘सम्बन्ध विच्छेद भएको’ देखाइएको, विवाह र इच्छापत्रसम्बन्धी तथ्यहरू लुकाइएको जस्ता गम्भिर आपाराधिक काम गरि युवा लाइ सम्पत्ति दावि को मुद्दा दायर का लागि काठमाडौं   स्थित  नर्वेजियन राजदूतावासको संलग्नतासहित गैरकानुनी प्रमाणहरू जुटाइएको दाबीसमेत उनले गरेका छन्।

जिल्ला र पुनरावेदन अदालतबाट हार व्यहोरेपछि डिजे युवा झण्डै निराशाको अन्तिम मोडमा पुगेका थिए।
“१० वर्षसम्म कानुनी लडाइँ लड्दा लड्दा मैले जर्मन र नर्वेमा पसिना बगाएर कमाएको सबै सम्पत्ति सकाएँ,” उनले भावुक हुँदै भने।
कुनै समय आलिसान बंगलामा बस्ने डिजे युवा आज काठमाडौंमा भाडाको सामान्य कोठामा एक्लै बस्दै साधारण जीवन बिताइरहेका छन्।

सम्पत्तिप्रति कहिल्यै लोभ नगर्ने, आफ्नो जीवन समाज सेवामै समर्पण गर्ने ती युवा केवल व्यक्ति मात्र होइनन्—उनी एउटा सोच, एउटा संस्कार र एउटा प्रेरणा हुन्। नेपालमा समाज विकासका लागि उनले आफ्नो पसिना, समय र सपना मात्र होइन, आफ्नै करोडौँ रुपैयाँ बराबरको सम्पत्ति पनि निस्वार्थ रूपमा अर्पण गरे।

जसले उनीमाथि मुद्दा हाल्यो, उसलाई पनि उनले घृणा गरेनन्। बदला होइन, क्षमा रोजे; शत्रु होइन, मानवता देखे। महँगा उपहार दिएर उनले प्रमाणित गरे—उनको मन सम्पत्तिभन्दा धेरै ठूलो छ।

तर नियतिले कहिल्यै नसोचेको मोड लियो। आर्थिक रूपमा सम्पन्न देश नर्वेमा, त्यो पनि अर्बपति परिवारबाट केही रकमका लागि उनीमाथि सम्पत्ति दाबीको मुद्दा दायर भयो। जुन व्यक्तिले सम्पत्तिलाई कहिल्यै महत्व दिएन, उसैलाई सम्पत्तिकै नाममा अदालतको कठघरामा उभ्याइयो।

न्यायको पक्षमा उभिँदा उनले आफ्नो सबै सम्पत्ति खर्चिनुपर्‍यो। सम्पत्ति सकियो, सुविधा हरायो, तर आत्मसम्मान कहिल्यै झुकेन। आज उनी साधारण जीवन बाँचिरहेका छन्—तर उनको आत्मा धनी छ, विचार उज्यालो छन्, र संघर्ष अमर छ।

उनको कथा हामी सबैका लागि एउटा गहिरो सन्देश हो—

धनले मान्छेलाई ठूलो बनाउँदैन, त्यागले बनाउँछ।

सुख सुविधा क्षणिक हुन्छन्, तर सत्य र इमानदारी सधैँ अमर रहन्छन्।

यही कारण, उनी आज एउटा जीवित प्रेरणा हुन्।

सर्वोच्च अदालतको ऐतिहासिक फैसला

तर अन्ततः न्याय ढिलो भए पनि आइपुग्यो।
नेपालको सर्वोच्च अदालतले २०२५ फेब्रुअरी १७ मा दिएको फैसलाले युवराज भण्डारीलाई स्व. मेयरको सम्पूर्ण सम्पत्तिको एकमात्र उत्तराधिकारी का रूपमा मान्यता दियो। अदालतले मेयरको इच्छापत्र अमान्य ठहर गर्दै नेपाली कानुनअनुसार मृतकको सम्पूर्ण सम्पत्तिमा पत्नीको अधिकार रहने स्पष्ट पारेको छ।

फैसलामा भनिएको छ कि मेयरको मृत्युको समयमा उनी नेपालमै बसोबास गरिरहेका थिए, जसका कारण अन्तर्राष्ट्रिय निजी कानुनअनुसार पनि नेपालकै कानुन लागू हुन्छ। यसैले नर्वेमा अघि बढाइएको निजी प्रोबेट प्रक्रिया अवैध ठहर गरिएको छ।

नर्वेमा नयाँ कानुनी लडाइँको तयारी

ओस्लोस्थित रेइनहोल्ड्ट एड्भोकेटफिर्मा एएसका वकिल थोमस रेइनहोल्ड्टले मेयरका छोराछोरी तथा उनका कानुनी प्रतिनिधिलाई औपचारिक पत्र पठाउँदै १४ दिनभित्र सम्पत्ति हस्तान्तरण नगरे थप कानुनी कारबाही अघि बढाइने चेतावनी दिएका छन्। नेपालका अधिवक्ता देवेन्द्र प्रधानमार्फत नोटिस पठाइसकिएको छ।

वकिल रेइनहोल्ड्टका अनुसार अमान्य प्रोबेट प्रमाणपत्रका आधारमा सम्पत्ति बाँडफाँड गरिएको भए ती सबै प्रक्रिया अवैध हुने र सम्पूर्ण सम्पत्ति पुनः भण्डारीलाई फिर्ता गर्नुपर्ने हुन्छ। साथै लापरवाही र जालसाजीका कारण भएको क्षतिका लागि क्षतिपूर्तिको माग पनि गरिनेछ।

अब डिजे युवा नर्वेको ओस्लो जिल्ला अदालतमा मेयरको नर्वे, इटाली र स्पेनमा रहेको सम्पत्तिसमेत आफूले पाउनुपर्ने मागसहित क्षतिपूर्ति दाबी गरेर मुद्दा दर्ता गर्ने अन्तिम तयारीमा छन्।
उनका अनुसार आफूलाई जानाजानी फसाइएको र अन्याय गरिएको हुँदा उक्त परिवारविरुद्ध जालसाजी र क्षतिपूर्तिको मुद्दा दायर गरिनेछ।

यस प्रक्रियामा नर्वेमा रहेका एनआरएन अभियन्ता कुमार पण्डित र रोशन श्रेष्ठले महत्वपूर्ण सहयोग गरिरहेका छन्।

“मैले न्याय पाएँ”

सर्वोच्च अदालतको फैसलापछि डिजे युवाले राहतको सास फेरेका छन्।
“मैले न्याय पाएँ,” उनले भने, “तर यस न्यायको मूल्य धेरै महँगो रह्यो — १० वर्षको जीवन, मेरो करिअर, मेरो सम्पत्ति र मानसिक शान्ति सबै गुमाएँ।”

एक दशकसम्मको संघर्षले उनलाई शारीरिक, मानसिक र आर्थिक रूपमा थला पारे पनि अब उनी पुनः सांगीतिक क्षेत्रमा सक्रिय रूपमा फर्किने तयारीमा छन्।
उनको भनाइ छ, “अब बाँकी जीवन न्याय, संगीत र आत्मसम्मानका लागि समर्पित गर्नेछु।”

अन्तर्राष्ट्रिय कानुनी बहसको विषय

यस घटनाले नेपाल र नर्वे दुवै देशमा अन्तर्राष्ट्रिय उत्तराधिकार कानुन, वैवाहिक मान्यता, प्रोबेट प्रक्रिया र कूटनीतिक भूमिकाबारे गम्भीर बहस सिर्जना गरेको छ।
एक कलाकारको व्यक्तिगत पीडाले आज दुई मुलुकबीचको कानुनी अभ्यासमा समेत प्रश्न उठाएको छ।

डिजे युवाको कथा केवल एक कलाकारको कानुनी जित मात्र होइन,
यो कथा हो ; न्याय ढिलो भए पनि अन्ततः सत्यको जित हुने विश्वासको।