काठमाडौँ — लुम्बिनी प्रदेश अन्तर्गत दाङ जिल्लाका युवा हाप्किडो खेलाडी तथा प्रशिक्षक बिशाल थापा “नेपाल नेशन्स अवार्ड २०२५” बाट सम्मानित भएका छन्। उनलाई खेलकुद क्षेत्रअन्तर्गत Best Hapkido Rising Star (Sports Hapkido Black Belt) को उपाधिबाट सम्मान प्रदान गरिएको हो।

मन खुसी फाउन्डेसन बागमती प्रदेश तथा करण ड्रिम्श फाउन्डेसन केन्द्रीय समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालय, उर्जा तथा जलस्रोत मन्त्रालय, बेलकोटगढी नगरपालिका नुवाकोट र चन्द्रागिरी नगरपालिका काठमाडौँको समन्वय रहेको थियो।
काठमाडौँको अनुपम पार्टी भेन्युमा २०८२ साल पौष १५ गते सम्पन्न समारोहका प्रमुख अतिथि माननीय राधिका तामाङ (नेपाल सरकार कृषि राज्य मन्त्री, बागमती प्रदेश पूर्व उपसभामुख तथा प्रदेश सभा सदस्य) रहनुभएको थियो।
कार्यक्रममा विशेष अतिथिका रूपमा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष तथा चर्चित गायक प्रकाश कटुवाल, मनखुसी फाउन्डेसनका संस्थापक अध्यक्ष तथा वरिष्ठ समाजसेवी मान बहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो। नेपाल नेशन्स अवार्डका संयोजक दिनेश तामाङ तथा अध्यक्ष करण तामाङ ले कार्यक्रमको नेतृत्व गर्नुभएको थियो।

लुम्बिनी प्रदेश दाङबाट राष्ट्रिय स्तरको प्रतिष्ठित अवार्ड प्राप्त गर्न सफल बिशाल थापाको यस उपलब्धिले दाङ जिल्ला मात्र नभई सम्पूर्ण लुम्बिनी प्रदेशको खेलकुद क्षेत्रमा गौरव थपेको छ। हाप्किडो खेलमार्फत युवालाई अनुशासन, आत्मरक्षा र राष्ट्रप्रतिको समर्पण सिकाउँदै आएका थापाको योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
यस उपलब्धिले भविष्यमा नेपाली हाप्किडो खेललाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ।























