प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी रहादा आयोगले आवश्यक तयारीलाई तीव्र पारेको हो । आयोगले आज बिहान १० बजेदेखि अपराह्न ४ः०० बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ ।
समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने यही मङ्सिर २४ गते प्रकाशित हुनेछ । यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते उम्मेदवारको बन्द सूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ ।
यस्तै, आगामी माघ ३० गते भने समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तयगरिएको छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० सदस्य निर्वाचित हुने प्रावधान छ ।
प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयन पत्र दर्ता हुने तथा उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम छ ।
माघ ७ गते उम्मेदवारीमाथिको विरोधमा उजुरी दिने अवधि तथा ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।























