ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले हिउँदयामको विद्युत् व्यवस्थापनका लागि भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौताबारे भ्रम फैलाइएको बताएका छन्।
यो निर्णय व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि नभई राष्ट्र र नेपाल विद्युत् प्राधिकरणको हितमा गरिएको जिकिर उनले गरेका छन्।
आइतबार बिहान उनले भनेका छन्, ‘आगामी हिउँदयामको विद्युत् व्यवस्थापनका लागि भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौताबारे केही भ्रम फैलाइएको देखिएको छ। म स्पष्ट भन्न चाहन्छु- यो निर्णय कुनै व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि होइन, राष्ट्र र नेपाल विद्युत् प्राधिकरणको हितमा गरिएको हो।’
उनका अनुसार नदी प्रवाहमा आधारित हाम्रो प्रणालीमा वर्षायाममा निर्यात र सुक्खायाममा केही परिमाणमा आयात आवश्यक छ।
यसअघि शनिबार नेपाल विद्युत् प्राधिकरणले पनि भारतीय कम्पनीसँगको विद्युत् खरिद सम्झौतामा करोडौँ रुपैयाँ अनियमितता भएको भनी प्रकाशित सामग्रीको खण्डन गरेको थियो।
























