साझेदारी गर्नुहोस्

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा देखा परेका चुनौती र समस्याको सामना गर्नका लागि नयाँ शक्ति निर्माण भएको बताएका छन्।

माओवादी केन्द्र, नेकपा (एस) सहितका कम्युनिष्ट दलहरूको एकता घोषणा सम्मेलनमा बोल्दै उनले देशलाई नयाँ ढंगले अगाडि बढाउने आत्मविश्वास पैदा भएको बताए।

उनले भने, ‘हामी एक ढिक्का भएर देशको अगाडि देखा परेका चुनौती र समस्याको सामना गर्न सक्छौं भन्ने आत्मविश्वास पैदा भएको छ। हामी नेपाललाई नयाँ ढंगले अगाडि बढाउन सक्छौं र एउटा नयाँ शक्ति निर्माण भयो भन्ने विश्वास व्यक्त गर्न चाहन्छौं। आजको दिन नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा कहिल्यै नबिर्सिने दिन हुने छ। एकै साथ १० वटा कम्युनिष्ट घटकको एकता भएको इतिहास सम्भवतः नेपालमा छैन। दुईवटा, तीनवटा, मिल्ने त भयो होला।’

प्रचण्डले आजको दिनलाई नेपाली कम्युनिष्ट आन्दोलन र राष्ट्रिय राजनीतिका दृष्टिले ऐतिहासिक रहेको उल्लेख गर्दै यसले राष्ट्रिय एकताको नयाँ आधार तयार पार्ने विश्वास व्यक्त गरे।