साझेदारी गर्नुहोस्

आज कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार, कोसी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको पनि सम्भावना छ।

आज बागमती, कमला, कोसी र कन्काई नदी र यी नदीका सहायक नदीहरूमा पानीको बहाब उल्लेख्य बढ्नेसमेत सम्भावना छ।

ती नदीमा सतर्कता तह आसपास पुग्न सक्ने देखिनुका साथै, बागमती र मधेस प्रदेशका महाभारत, चुरे भई बहने स साना नदीनालामा आकस्मिक बहाव हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै बागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहने अनुमान पनि महाशाखाले गरेको छ।