रौतहट -सर्लाही – नेपाली साहित्यका अमर ज्योति महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्तीको अवसरमा आयोजित “स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम” बुधबार भव्य रुपमा सम्पन्न भएको छ।
कार्यक्रम जनएकता सामुदायिक वनको सभामञ्च, चन्दपुर–४, जङ्गलटोलमा सम्पन्न भएको हो। कार्यक्रममा साहित्यप्रेमी, कवि, साहित्यकार, विद्यार्थी तथा स्थानीय समाजसेवीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
शिवसावित्री प्रतिष्ठान नेपाल र बुढ्यौली साहित्य समाज, रौतहट–सर्लाहीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा सहभागी स्रष्टाहरूले देवकोटाका कविताका भाव र उनका अमर साहित्यिक योगदानको स्मरण गर्दै आफ्ना मौलिक कविताहरू वाचन गरेका थिए।
कार्यक्रमका वक्ताहरूले देवकोटाको साहित्यिक दृष्टि, मानवीय चेतना र देशप्रेमबारे चर्चा गर्दै उनको सिर्जनालाई आजको पुस्ताका लागि प्रेरणाको स्रोतका रूपमा प्रस्तुत गरे। कार्यक्रममा स्थानीय साहित्यकारहरूलाई ‘स्रष्टा सम्मान’ द्वारा सम्मानित गरिएको थियो।
समारोहमा देवकोटाको कवित्वशैलीमा आधारित कविता वाचन, विचार–विमर्श तथा नाटक प्रदर्शनसमेत गरिएको थियो।
कार्यक्रमका अन्त्यमा आयोजक संस्थाका प्रतिनिधिहरूले साहित्य र संस्कृतिको संरक्षणमा निरन्तर योगदान गर्ने प्रतिबद्धता जनाए। महाकवि देवकोटाको ११७औं जयन्ती केवल स्मरण कार्यक्रम नभई, नेपाली भाषा, साहित्य र संस्कृतिप्रतिको आस्था र श्रद्धाको उत्सव बनेको अनुभव सबैले गरे।























