साझेदारी गर्नुहोस्

इजरायली सेनाले (आईडीएफ) हमासको नियन्त्रणमा रहेका  नेपाली बन्धक बिपिन जोशीको एउटा भिडियो बुधबार राति सार्वजनिक गरेको छ।

तर यो भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान छ । यो भिडियो बिपिनको परिवारको अनुरोधमा सार्वजनिक गरिएको हो।

भिडियोमा बिपिनले आफूलाई यसरी परिचय गराएका छन्, ‘इस्मी (मेरो नाम) बिपिन जोशी हो। म नेपालबाट आएको हुँ। मेरो उमेर २३ वर्ष छ। म २५ दिनअघि इजरायल आएको हुँ। म ‘लर्न एन्ड अर्न’ कार्यक्रमका लागि आएको हुँ। म विद्यार्थी हुँ।

सन् २०२३ अक्टोबर ७ मा इजरायलको किब्बुट्ज अलुमिमबाट अपहरणमा परेका बिपिनको यो भिडियो दुई वर्षपछि सार्वजनिक गरिएको हो।

भिडियो इजरायली गुप्तचर अधिकारीहरूले गाजामा जारी रक्तपातपूर्ण युद्धका क्रममा प्राप्त गरेका थिए।

यो भिडियो सार्वजनिक गर्नुअघि सेन्सर गरिएको छ। परिवारबाट हाल मात्रै अनुमति पाएपछि इजरायली सेनाले भिडियो सार्वजनिक गरेको हो। यो बिपिनको बन्धक बनेको समयदेखि पाइएको जीवनको थोरै प्रमाणमध्ये एक हो। उनको हालको अवस्था भने अझै स्पष्ट छैन।