काठमाडौँ प्रहरी परिसरले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न नमिल्ने बताएपछि हामी नेपाल संस्थाका सुदन गुरुङको टोलीले ‘बाहिर सडकबाटै जवाफ दिने’ चेतावनी दिएको छ।
गुरुङको धम्कीपछि सुरक्षाको कारण प्रहरीले थोरै सङ्ख्यामा रहेका बिटका प्रहरीहरुलाई फिर्ता बोलाएको छ।
जेन–जी आन्दोलनपछि युवा समूहको नेतृत्व गरिरहेका हामी नेपाल संसथाका सुदन गुरुङसहित चार युवाले बुधबार काठमाडौँ प्रहरी परिसरमा ओली र लेखकविरुद्ध जाहेरी दिँदै उनीहरूलाई तत्काल पक्राउ गरेर कारबाही अगाडि बढाउन माग गरेका थिए।
गुरुङले सोमबार दिउँसोदेखि ओली र लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा अभियान सुरु गरेका थिए। त्यसपछि उनको टोली जाहेरी लिएर प्रहरी परिसर पुगेको हो। प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि गुरुङले ‘सडकबाटै जवाफ दिने’ चेतावनी दिएका हुन्।
प्रहरीले तत्काल पक्राउ गर्न नमिल्ने बताएपछि उनीहरू चारजनाले काठमाडौं परिसरको मुद्दा शाखामा ‘अब बाहिर सडकबाटै यसको जवाफ दिने’ चेतावनी दिएर फर्किएका थिए। त्यसपछि प्रहरीले थोरै सङ्ख्यामा रहेका प्रहरी बिटका प्रहरीहरुलाई फिर्ता बोलाएको हो।






















