साझेदारी गर्नुहोस्

अर्थ मन्त्रालयले १५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा राख्न प्रतिबन्ध लगाएको छ।

अर्थ मन्त्रालयले बुधबार राति आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) अकाउन्टमार्फत त्यस्तो सूचना जारी गरेको हो।

विदेश भ्रमणबाट फर्किँदा बचत भएको वा वैध स्रोतबाट प्राप्‍त विदेशी मुद्रा अधिकतम १५ सय डलर वा त्यस बराबरको परिवर्त्य विदेशी मुद्रा मात्र नगदमा राख्न पाइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रचलित कानुनमा भएको व्यवस्थाबाहेक तोकिएको रकमभन्दा बढीको कारोबार बैंकिङ माध्यमबाट गर्नुपर्नेछ।

अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम राख्न यही असोज ५ गते मन्त्रिपरिषद्‌ले गरेको निर्णयअनुसार सेवानिवृत्त भइसकेका पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्ड बमोजिमका सेवा-सुविधा मात्र प्रदान गर्न पत्राचार गरिएको अर्थ मन्त्रालयले जानकारी गराएको छ।