राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ । निगमले शनिबारदेखि काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं नियमित उडान सञ्चालन गरेको हो ।
निगमले चीनको ग्वाञ्जाओमा असोज ९ गतेदेखि उडान सञ्चालन गर्ने योजना बनाएको भए पनि केही प्राविधिक कमजोरीका कारण निगमको उद्घाटन उडान शनिबार दिउँसो मात्र भयो । ग्वाञ्जाओको उद्घाटन उडानमा सहभागी विभिन्न क्षेत्रका व्यक्ति तथा केही सङ्ख्याका यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगिसकेको अवस्थामा उडान रद्द भएको थियो । विमानस्थल पुगेका यात्रुलाई निगमले व्यवस्थापन गरेको थियो ।
निगमले हरेक हप्ता तीनवटा नियमित उडान गर्ने तालिका तय गरेको छ । पहिलो उडान असोज १२ गते हुने र त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते हुने उडान पनि तय भएको छ । त्यसपश्चात् प्रत्येक आइतबार, मङ्गलबार र शनिबार ग्वाञ्जाओतर्फ सिधा उडान हुनेछ । काठमाडौंबाट ग्वाञ्जाओसम्मको एकतर्फी भाडादर ३० हजार र दोहोरो टिकट ५० हजार रुपैयाँ तोकिएको निगमले जनाएको छ ।
काठमाडौं–ग्वाञ्जाओ गन्तव्यमा अहिले चीनको वायुसेवा कम्पनी चाइना साउदर्नले नियमित उडान गरिरहेको छ । नेपालबाट भने हिमालय एयरलाइन्सले यो रूटमा नियमित उडान भर्दै आएको छ । नेपालीहरूको बाहुल्यता रहेको ग्वाञ्जाओ उडानले निगमलाई आर्थिक रूपमा लाभ हुनसक्ने अनुमान गरिएको छ ।






















